पौडेलको कमाण्डमा १८८ जना शान्ति सैनिक कङ्गो प्रस्थान

सफल खबर संवाददाता

शुक्रबार, २७ पुस २०८०, १५ : ०४
पौडेलको कमाण्डमा १८८ जना शान्ति सैनिक कङ्गो प्रस्थान

काठमाडौँ । नेपाली सेनाले मध्य अफ्रिकी मुलुक कङ्गोमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघको मिसनमा तैनाथ आफ्ना सैनिकहरूको अदलीबदली गरेको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्रसंघको स्थिरीकरण मिसन (मोनुस्को) मा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको हो ।

मिसनमा सहभागी नरसिंहदल गणको २९ औँ डफ्फालाई बदली गर्न महावीर शौर्य गण (रेञ्जर) को ३० औँ डफ्फाका १८८ जना नेपाली शान्ति सैनिकहरू शुक्रबार मिसन इलाका प्रस्थान गरेका हुन् । उक्त टोलीको नेतृत्व प्रमुख सेनानी प्रेमप्रसाद पौडेलले गरेका छन् ।

मिसनमा आफ्नो कार्यकाल पूरा गरेको नरसिंहदल गणको २९ औँ डफ्फाका १८८ जना नेपाली शान्ति सैनिकहरू सेनानी कमल थापाको नेतृत्वमा शुक्रबार नै स्वदेश फर्किएका छन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हाल मोनुस्को मिसनमा नेपाली सेनाका १ हजार १५२ जना शान्ति सैनिकहरू कार्यरत छन् । राष्ट्र संघको आह्वानमा नेपाली सेनाले आफ्नो तर्फबाट द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ फौज पठाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस