सरकारले जनताको शिर झुकाउनेगरी कुनै काम गरेको छैन: उपप्रधानमन्त्री खड्का

सफल खबर संवाददाता

शुक्रबार, २७ पुस २०८०, १० : ४०
सरकारले जनताको शिर झुकाउनेगरी कुनै काम गरेको छैन: उपप्रधानमन्त्री खड्का

काठमाडौ । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउनेगरी कुनै पनि काम नगरेको बताएका छन् । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका खड्काले आज नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर १ ले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै सरकारले मध्यमस्तरको काम भने गरिरहेको बताएका हुन् ।

'हामीले जनताका लागि कति राम्रो काम गर्न सकेका छौं त्यो छलफल हुने नै छ,' उनले भने, 'वर्तमान सरकारले निकै राम्रो काम गरेको छ पनि भन्दिनँ ।  सरकारले मध्यमस्तरमा रही काम गरेको छ । जनताको शिर झुकाउनेगरी कुनै पनि काम गरेको छैन ।'

उपसभापति खड्काले आर्थिक स्रोतको अपर्याप्तताका कारणले विकास निर्माणका काम सुस्त भएको बताए । पर्याप्त बजेट नहुँदा चाहेर पनि विकास निर्माणका काम अपेक्षाअनुसार हुन नसकेको उनको भनाइ छ । यद्यपि भएको स्रोतको सदुपयोग गर्दै केही प्रयास भने भइरहेको उनले बताए । 

जनता र सेवाग्राहीसँग जोडिएका विषयमा हुने झन्झट, अप्ठ्यारोपन, ढिलासुस्तीले परेको नकारात्मकता हटाउन सरकारले काम गरिरहेको खड्काको भनाइ छ । 

उपसभापति खड्काले मुलुकको शिक्षा, जलस्रोत, स्वास्थ्यलगायत क्षेत्रमा भएका विकास कांग्रेसको नेतृत्वमा भएको भन्दै कमीकमजोरी सुधार गर्दै जाने पनि उल्लेख गरे । सबैभन्दा पहिले आफूभित्र भएको कमजोरी सुधार गर्दै पार्टीमा भएका कमजोरी हटाउँदै लैजानुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस