आन्तरिक भागबन्डा मिलाउन चार वटै दल छलफलमा

सफल खबर संवाददाता

आइतबार, २२ पुस २०८०, १४ : ५०
आन्तरिक भागबन्डा मिलाउन चार वटै दल छलफलमा

काठमाडौं। राष्ट्रिय सभाका १९ सिटको भागबन्डामा सहमति भएपछि सत्तारुढ चार वटै दल आन्तरिक छलफलमा जुटेका छन् ।आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले कांग्रेसले १०, माओवादीले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादीले १ सिट लिने समझदारी गरेका थिए ।

यो समझदारीपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक भागबन्डा मिलाउन उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, डा. शेखर कोइराला र नेता रमेश लेखकसँग छलफल गरिरहेका छन् । धुम्बाराहीस्थित देउवा निवासमा आन्तरिक भागबन्डा मिलाएपछि सानेपामा ४ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेर उम्मेदवार सिफारिस गर्ने तयारी कांग्रेसको छ ।

बिहान सत्ता गठबन्धनमा सहमति जुटेर ६ सिटको टुंगो लागेपछि उम्मेदवार तय गर्न माओवादी केन्द्र पनि पदाधिकारी बैठकमा जुटेको छ । माओवादीको पदाधिकारी बैठक बालुवाटारमा जारी रहेको छ ।

त्यस्तै, सत्ता गठबन्धनसँग भएको सहमतिमा २ सिटमा चित्त नबुझाएको नेकपा एकीकृत समाजवादी पनि सचिवालयको बैठकमा छ । आफ्नो असन्तुष्टिको विषय र राष्ट्रिय सभामा उम्मेदवार सिफारिस गर्न नेकपा एसको बैठक पार्टी कार्यालयमा बसिरहेको हो । 

त्यस्तै एक सिट पाएको जनता समाजवादी पार्टीको कार्यकारिणी बैठक पनि ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बसिरहेको छ । सत्तारुढ दलले १९ वटा सिटमा गठबन्धन दलबीच मिलेर उम्मेदवारी दिने सहमति भएपछि उनीहरू आन्तरिक छलफलमा जुटेका हुन् । 

राष्ट्रिय सभामा बागमतीबाट सबैभन्दा बढी ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट  तीनतीन गरी ९, कोशी, मधेश र लुम्बिनीबाट प्रत्येकबाट दुई दुई गरी ६ जना गरी १९ सीटका लागि निर्वाचन हुँदैछ ।आगामी ११ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । 

सातवटै प्रदेशबाट खाली भएका सिटमा सम्बन्धित प्रदेशमा चुनाव हुन लागेको हो । चुनावमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाकका अध्यक्ष र उपाध्यक्ष मतदाता हुनेछन् । प्रदेशको प्रति सांसद मतभार ५३ र स्थानीय तहको १९ हुनेछ ।

प्रतिक्रिया दिनुहोस