हेटौँडा सडक विस्तारमा व्यवसायीसँग मुख्यमन्त्री जम्कट्टेलले मागे सहयोग

सफल खबर संवाददाता

शनिबार, २१ पुस २०८०, २० : १८
हेटौँडा सडक विस्तारमा व्यवसायीसँग मुख्यमन्त्री जम्कट्टेलले मागे सहयोग

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा बजार क्षेत्रका सडक विस्तारमा सहयोग गर्न आग्रह गरेका छन्। मकवानपुर उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारण सभामा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारको अधिकारभित्र नपरे पनि प्रदेश राजधानी क्षेत्रका सडक विस्तार गर्नुपर्नेमा जोड दिए।

आफूले व्यवसायीको मर्का र समस्यालाई नजिकबाट बुझेको उल्लेख गर्दै मुख्यमन्त्रीले विकास सम्भव छ, यही सरकारबाट विकासले तीव्रगति लिने बताए। प्रदेशभित्रका ठुला उद्योग र औद्योगिक क्षेत्र प्रदेश मातहत ल्याउन नसक्नुको कारण जग्गा, विद्युत्, राजस्व सङ्घीय सरकार मातहत रहनु हो भन्दै उनले प्रदेश सरकार १० ठाउँमा उद्योग ग्राम र कोसेलीघर निर्माणको तयारी रहेको बताए।

प्रदेश सरकारलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्यमा उद्योग वाणिज्य सङ्घको पनि सहयोग आवश्यक पर्ने बताउँदै मुख्यमन्त्री जम्कट्टेलले उत्पादन र व्यवसायको मोडल परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनले सरकार र निजी क्षेत्रबाट कृषि, पर्यटनपछि व्यापार–व्यवसाय वृद्धि गर्न युवा जनशक्तिलाई प्रयोग गर्न आग्रह गरे। 

प्रतिक्रिया दिनुहोस