नेपाली सेनाले सुरु गर्‍यो एकीकरण पदयात्रा

सफल खबर संवाददाता

शनिबार, २१ पुस २०८०, १२ : १७
नेपाली सेनाले सुरु गर्‍यो एकीकरण पदयात्रा

गोरखा । विगतका वर्षजस्तै यस वर्ष पनि गोरखाबाट नेपाली सेनाले एकीकरण पदयात्रा सुरु गरेको छ । नेपाल एकीकरणको क्रममा प्रयोग भएको गोरखादेखि काठमाडौसम्मको ऐतिहासिक पदमार्गमा शनिबारदेखि पदयात्रा सुरु भएको हो ।

शनिबार गोरखा दरबारबाट सुरु भएको पदयात्रामा अधिकृतको कमाण्डमा ३० जनाको टोली सहभागी छन् । उनीहरु टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्द बहादुर गण र सबुज गणको झण्डासहित पदयात्रामा सहभागी भएको रिपुमर्दन गणका गणपती अशोक कुमार क्षेत्रीले बताए ।

उनीहरुलाई गोरखा दरबार परिसरमा एक कार्यक्रमका बीच टर्च र झण्डा हस्तान्तरण गरेर बिदाइ गरिएको छ ।पश्चिम पृतना हेडक्वाटर पृतनापति उपरथी सन्तोष बल्लभ पौडेल र स्थानीय जनप्रतिनिधिले संयुक्त रुपमा उनीहरुलाई टर्च र झण्डा हस्तान्तरण गरेका हुन् ।

गोरखाको टोली पिपलथोक, ताप्ले, अश्राङ, बोर्लाङ हुँदै घाटवेशी पुग्ने र टर्च र झण्डा धादिङको शिवदल गणलाई बुझाउने गणपती क्षेत्रीले बताए । ‘गोरखाले धादिङलाई बुझाउँछ, धादिङले नुवकोटमा तैनाथ जबरजंग गणलाई र नुवकोटले काठमाडौं नागार्जुनस्थित कालीध्वज गणलाई झण्डा र टर्च हस्तान्तरण गर्छन्,’ उनले भने ।

कालीध्वज गणले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हनुमानढोकामा आयोजना हुने कार्यक्रमका लागि पुस २६ गते साँझसम्म हनुमानढोका स्थित शार्दुलजंग गुल्मलाई टर्च र झण्डा हस्तान्तरण गर्ने बताइएको छ ।

३०२ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा गोरखाबाट पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ । एकीकरण मार्ग लगायत ऐतिहासिक धरोहरहरुको जगेर्नासँगै पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ २०७६ सालदेखि नेपाली सेनाले एकीकरण मार्गमा पदयात्रा गर्दै आएको छ ।