राष्ट्रियसभा चुनाव

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, भोलि विहान फेरि बस्ने

सफल खबर संवाददाता

बुधबार, १८ पुस २०८०, २० : ०६
सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, भोलि विहान फेरि बस्ने

काठमाडौँ । राष्ट्रियसभा चुनावमा सिट बाँडफाँटबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धन दलहरुको बैठक बिना निष्कर्ष सकिएको छ। चुनावमा नेकपा एमालेसहितको गठबन्धन हुनसक्ने सम्भावनाका कारण आजको बैठक बिना निष्कर्ष टुंगिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपरान्ह बोलाएको बैठक एमालेको प्रस्ताव पर्खनका लागि भोलि  विहान ९ बजे फेरि बस्नेछ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग राष्ट्रियसभामा एमालेलाई जिरो नबनाउन आग्रह गरेको बताएका थिए। एमालेबाट यसबारे ठोस प्रस्ताव आए छलफल गर्न सकिने कुरा भएको पनि पाण्डेले बताए। 

बैठकमा प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपालमा हुन लागेको भ्रमण र त्यसमा सरकारले गर्ने छलफलको एजेण्डाबारे पनि ब्रिफिङ गरेको पाण्डेले बताए।

उपाध्यक्ष पाण्डेले भने, ‘दुईवटा विषयमा छलफल भयो। भोलि भारतीय परराष्ट्रमन्त्री नेपाल आउँदै हुनुहुन्छ। भारतसँग भएको कतिपय सन्धिका कुराहरु छन्‚ पञ्चेश्वरका विषयहरु छन्। महाकाली सन्धिमा उल्लेख भएका कुराहरुलाई कसरी हामीले उहाँहरुसँग बसेर कुराकानी मिलाएर जान सकिन्छ? यी विषयहरुमा प्रधानमन्त्रीले विभिन्न ढंगले तयारी गरिरहेको कुरा हामीलाई ब्रिफिङ गर्नुभयो।’

उनले सो विषयमा सत्तारुढ दलहरुबीच कुनै सहमति नभएकाले भोलि (बिहीवार) बिहान ९ बजे पुनः बैठक बस्ने सहमति गरिएको बताए।‘राष्ट्रियसभा निर्वाचनका लागि २३ गते उम्मेदवारी दिनु छ र २० सिट खाली भएका छन्। त्यसमा एमालेकै प्रतिनिधि रहेको ९ सिट छ। यो ९ सिटको बारेमा हामी कसरी जान्छौं भन्नेबारे सरसल्लाह भयो‚ टुंगिएको छैन । एमालेलाई पनि सो निर्वाचनमा सहभागी गराएर लैजाने कि भन्नेबारे प्रधानमन्त्रीज्युसँग एमाले अध्यक्षज्युले हामीलाई जिरो नगर्नुस् भन्नुभयो भन्ने खालको कुरा आयो‚’ उनले भने‚ ‘यो कुरा आएपछि हामीले सबै दलहरुसँग सरसल्लाह गरेर उहाँहरुको खास कंक्रिट प्रस्ताव के हो? एमालेको ठोस प्रस्ताव आएपछि कुरा गर्न उपयुक्त हुन्छ भन्ने विषयमा छलफल गरियो।’

उनले नेपाल कांग्रेस-माओवादी केन्द्रबीचको छलफलमा भने ओलीजीबाट यस्तो प्रस्ताव आए भने के गर्ने भन्ने विषयमा सम्बन्धित भएर छलफल गरिएको हुनसक्ने अनुमान बताए।

बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत नेताहरु सहभागी थिए।

प्रतिक्रिया दिनुहोस