राष्ट्रियसभा निर्वाचन

एमालेलाई पनि सीट दिने गठबन्धनको तयारी

सफल खबर संवाददाता

बुधबार, १८ पुस २०८०, १२ : ३६
एमालेलाई पनि सीट दिने गठबन्धनको तयारी

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको सीट भागबन्डाको विषयलाई लिएर सत्ता गठबन्धन र एमालेसँग पनि छलफल गर्ने भएको छ । तीन बजे सत्ता गठबन्धनको बैठक बसे लगत्तै एमालेसँग छलफल गर्न लागिएको हो । ५ बजेका लागि एमालेसहितको बैठक बोलाइएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

उनले भने, ‘एमालेलाई पनि केही सीट दिएर जाने कि भन्ने गठबन्धनमा कुरा भएको छ । त्यही अनुसार आज बैठक बोलाइएको छ।’ उनले एमालेलाई कति सीट दिने भन्ने विषयमा नटुंगिएको बताए ।

गठबन्धनका शीर्ष चार कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको बैठक एमालेसँग बस्नुअघि बस्दैछ । त्यसबारे कांग्रेस र माओवादीका शीर्ष नेताहरूबिच हिजो र आज बिहान पनि छलफल भएको थियो ।

माघ ११ गते २० सीटका लागि हुने निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि समेटेर लैजाने प्रयास गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस