राष्ट्रियसभाको सीट भागबन्डा गर्न गठबन्धनको बैठक बस्दै

सफल खबर संवाददाता

बुधबार, १८ पुस २०८०, ११ : ३५
राष्ट्रियसभाको सीट भागबन्डा गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ। माघ ११ गते हुने राष्ट्रियसभाको सीट भागबन्डाबारे छलफल गर्नको लागि बैठक बस्न लागेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए। उनका अनुसार बैठक ३ बजे बालुवाटारमा बस्नेछ।

सत्ता गठबन्धन दलहरुबीच आफ्नो रिक्त भएको पद जोगाउँदै एमालेको ९ पदमा भागबन्डा गर्ने सहमति भइसकेको छ। यद्यपि, संख्या टुंग्याउन सकेका छैनन्।हिजो बसेको कांग्रेस र माओवादीबीचको बैठकमा गठबन्धनका अन्य दलसँग पनि छलफल गरेर सीटको भागबण्डा टुंग्याउने सहमति बनेको छ। त्यही अनुसार आज बैठक बस्न लागेको हो।

१९ सीटमध्ये कांग्रेसलाई ९, माओवादीलाई ६, नेकपा एसलाई ३ र जसपालाई १ सीट दिने गठबन्धनमा प्रारम्भिक प्रस्ताव छ। त्यसो हुँदा राष्ट्रपतिबाट मनोनीत हुने एक सीट पनि कांग्रेसकै हुनेछ।

तर, जसपा र नेकपा एसले थप एकएक सीट पाउनुपर्ने अडान राखेका छन्। चार ठूला दलहरू राष्ट्रियसभामा नागरिक उन्मुक्ति, लोसपा, जनमतलाई भाग नदिने पक्षमा छन् । तर, उनीहरूले गठबन्धनमा आफ्नो हिस्सा पाउनुपर्ने अडान राखेका छन् ।

साना दलहरूले पनि आकांक्षा राखेपछि गठबन्धनमा सीट भागबण्डा पेचिलो बन्दै गइरहेको छ । यता राष्ट्रियसभाको अध्यक्षमा पनि कांग्रेस, माओवादी र नेकपा एसले दाबी गर्दै आइरहेका छन् ।

यता, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई पनि समेटेर जाने गरी गृहकार्य चलाइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस