बालकुमारी सडक अवरोध भएको जानकारी सुरक्षा निकायले गराएन : मन्त्री ज्वाला

सफल खबर संवाददाता

सोमबार, १६ पुस २०८०, १६ : ०८
बालकुमारी सडक अवरोध भएको जानकारी सुरक्षा निकायले गराएन  : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गत शुक्रबार एकीकृत समाजवादी पार्टीको बैठकमा जाने क्रममा ललितपुरको बालकुमारी क्षेत्रको अवरोधबारे सुरक्षानिकायले जानकारी नदिएको दाबी गरेका छन्।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवरले भौतिक मन्त्रीको सवारीकै कारण उक्त घटना भएको बताइरहेका बेला ज्वालाको यस्तो स्पष्टीकण आएको हो। 

‘बालकुमारीमा सडक अवरोध भएको कुरा सुरक्षा निकायले हामीलाई जानकारी गराएनन्’, उनले भने, ‘बालकुमारी रुट प्रयोग गर्दा त्यहाँ अवरोध भएको जानकारी सुरक्षानिकायबाट नआएकैले गएका थियौँ।’

गत शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारी क्षेत्रमा युवाहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले सोही रुट हुँदै आएको मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए भने प्रहरी हस्तक्षेपका कारण दुई युवकको ज्यान समेत गएको थियो । 

सोही विषयमा कुरा गर्दै मन्त्री ज्वालाले आफू पार्टी केन्द्रीय कमिटी बैठकका लागि तीन दिनदेखि बालकुमारी आवतजावत गरिरहेको र सो दिनपनि बैठकस्थलबाट निस्किएर मन्त्रालय जाने क्रममा सो घटना भएको बताए ।

प्रतिक्रिया दिनुहोस