नेपाली हवाई क्षेत्रको अवस्था सुधारोन्मुख, 'कोभिडपूर्वको अवस्थामा फर्कियौं': महानिर्देशक अधिकारी

सफल खबर संवाददाता

आइतबार, १५ पुस २०८०, १६ : २३
नेपाली हवाई क्षेत्रको अवस्था सुधारोन्मुख, 'कोभिडपूर्वको अवस्थामा फर्कियौं': महानिर्देशक अधिकारी

काठमाडौं। पछिल्लो समय नेपालको हवाई क्षेत्र कोभिडपूर्वको अवस्थामा आइपुगेको नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताएका छन् ।स्थापनाको २५ औं वर्ष पुगेको अवसरमा सिनामंगलस्थित प्राधिकरणको नयाँ भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले हवाई क्षेत्रमा उल्लेख्य सुधार भएको बताए ।

 

सोही अवसरमा नवनिर्मित भवनको उद्घाटनसमेत गरिएको थियो । २०५५ सालमा स्थापना भएको नागरिक उड्डयन प्राधिकरणले आज आफ्नो २५ औं रजत जयन्ती मनाएको हो ।उनले पछिल्लो एक वर्षमा प्राधिकरणको सबै खर्च कटाएर खुद सञ्चालन मुनाफामा ३ अर्ब ४९ करोड १५ लाख रहेको बताएका छन् ।

उनले प्राधिकरणको आय एरोटिकलतर्फ ११ अर्ब ७२ करोड १७ लाख तथा नन्एरोटीकलतर्फ १ अर्ब ७८ करोड ८६ लाख गरी जम्मा १३ अर्ब ५१ करोड ३ लाख आम्दानी भएको बताए ।त्यस्तै प्राधिकरणको पुँजीगत खर्चतर्फ ७ अर्ब ४४ करोड ३८ लाख, कार्यसञ्चालन खर्चतर्फ ४ अर्ब २२ करोड ९९ लाख, आयकर तथा अन्य खर्च ४ अर्ब १५ करोड ५ लाख गरी १५ अर्ब ८२ करोड ८३ लाख खर्च भएको उनले जानकारी दिएका छन् । 

प्राधिकरण स्थापनाको पछिल्लो २५ वर्षमा हवाई उडान १९२ प्रतिशतले वृद्धि भएको बताउँदै उनले हवाई उडानमा यात्रुहरूको सङ्ख्या पनि ३६४ प्रतिशत र कार्गो १०० प्रतिशतले वृद्धि भएको आँकडा प्रस्तुत गरेका छन् ।

सन् २०२३ को अन्त्यमा आइपुग्दा ३ अन्तर्राष्ट्रिय विमानस्थलसहित आन्तरिक विमानस्थलको सङ्ख्या ५५ पुगेको छ । कोरोनाका कारण आर्थिकरूपमा धराशायी हुन पुगेको उड्डयन क्षेत्र सुधारोन्मुख हुँदै अहिले पुरानै अवस्थामा फर्किएको देखिएको छ ।

सन् २०२२ को नोभेम्बरसम्ममा त्रिभुवन र भैरहवा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने हवाई यात्रुको सङ्ख्या २९ लाख ४५ हजार ५ सय ४० रहेकोमा सन् २०२३ नोम्बेम्बरसम्ममा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडानमार्फत यात्रा गर्ने यात्रुको सङ्ख्या ४१ लाख ५४ हजार ३९३ पुगेको महानिर्देशक अधिकारीले जानकारी दिए ।

सन् २०१९ देखि २०२१ सम्म विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड संक्रमणले गर्दा आर्थिक रूपमा धराशायी हुन पुगेको समग्र उड्डयन क्षेत्र २०२२ मा बिस्तारै पुरानो लयमा फर्किन सुधारोन्मुख हुँदै चालू वर्ष सन् २०२३ मा वायुयानको सञ्चालन तथा यात्रु संख्याको आधारमा कोभिडपूर्वको अवस्थामा फर्किएको छ ।

प्रतिक्रिया दिनुहोस