मौरी पालेर वार्षिक ८ लाख आम्दानी

सफल खबर संवाददाता

शुक्रबार, १३ पुस २०८०, १४ : ५९
मौरी पालेर वार्षिक ८ लाख आम्दानी

दाङ। तुलसीपुर उपमहानगरपालिका – १० गोलौरीका ४८ वर्षीय माधव केसी व्यावसायिक रुपमा उन्नत जातका माहुरी पालन गरेर सफल माहुरी उद्यमीको रुपमा स्थापित बनेका छन् ।विगत डेढ दशकदेखि सो पेसा अँगालेका केसीले तीन जनालाई पूर्णरुपमा र दुई जनालाई आंशिकरुपमा रोजगारी दिएका छन् । 

 

माहुरीपालनबाट वार्षिक रु आठ लाख बचत गर्न सफल भएको उनले बताए । सफल व्यावसायिक माहुरी पालकरुपमा परिचित केसीको दिनचर्या माहुरीका घारलाई स्याहार तथा संरक्षण, चरण र मह काड्नेदेखि बजार व्यवस्थापन हुने गर्दछ ।​

आजभोलि महको सिजन भएकाले उनी माहुरी कर्ममा व्यस्त हुन्छन् । कृषि क्षेत्रमा राम्रो सम्भावना देखेरै बीएसीएजीको अध्ययन पूरा गरेपछि विसं २०६२ देखि प्राकृतिक मौरीपालन फार्म खोलेर उन्नत जातको  माहुरीपालन शुरूवात गरेको उनले  बताए ।​२५ घार मौरीबाट व्यवसाय शुरू गरेका केसीसँग हाल तीन सय घार मेलीफेरा जातका माहुरी छन् । उनले यस वर्ष १२ टन मह उत्पादन गरी सकेको अझ उत्पादन बढ्ने बताउँछन् ।​

माहुरीपालन व्यवसायमा सन्तुष्ट भए पनि महको बजार व्यवस्थापनमा समस्या भएको उनको भनाइ छ । ‘तोरी चरणबाट उत्पादन हुने मह फुट्करमा प्रतिकिलो रु पाँच सय र जङ्गमा चरणबाट उत्पादन भएको मह प्रतिकिलो रु आठ सयसम्म बिक्री गर्ने गरेको छु’, उनले भने ।​

बुधवार माहुरी फार्ममा मह किन्नका लागि आएका तुलसीपुर उपमहानगरपालिका–६ का २५ वर्षीय श्याम चौधरीले आफ्नै घरआँगनमा शुद्ध मह खान पाइएको बताए । ‘महमा औषधिजन्य गुण पनि हुन्छ । जाडोमा पनि महको सेवन राम्रो मानिन्छ’, उनले भने ।

केसीले फार्ममा हालसम्म रु एक करोडसम्मसम्म लगानी गरिसकेका छन् । उनले माहुरीका घार र मह बिक्रीबाट वार्षिक रु २२ देखि २५ लाखसम्म आम्दानी गर्छन्। सबै खर्च कटाएर वार्षिक रु सातदेखि आठ लाख बचत हुने गरेको केसीले बताए । 

उनी माहुरी चरणका लागि कैलालीसम्म पुग्छन् । माहुरी जोन कार्यक्रमले माहुरी र माहुरीका घार ५० प्रतिशत अनुदानमा प्राप्त भए पनि महले बजार पाउन नसक्दा समस्या भएको उनको भनाइ छ ।

बालीनालीमा बढ्दो विषादीको प्रयोग तथा जङ्गल निकुञ्जमा परिणत हुँदा माहुरी चरणका लागि समस्या हुने गरेको केसीको अनुभव छ । ‘सरकारले पहिलो प्राथमिकता माहुरी पालक किसानले उत्पादन गरेको महलाई खपतका लागि बजारीकरण गरिदिनुपर्छ’ उनले भने ।

हाल उनको फार्ममा माहुरीपालनका बारेमा जानकारी लिन, घार अवलोकनका लागि पनि मानिसहरू आउने गरेका छन् ।नेपालमा विभिन्न देशबाट मह आयात हुने र नेपालको महभन्दा ती ठाउँबाट आयातित मह व्यापारीले सस्तो मूल्यमा बिक्री गर्दा आफूहरूले उत्पादन गरेको महले उचित मूल्य र बजार नपाएको केसीले दुखेसो पोखे ।

प्रतिक्रिया दिनुहोस