मुग्लिन–पोखरा सडकखण्ड : जामुनेदेखि पोखरासम्म कालोपत्रको तयारी

सफल खबर संवाददाता

शुक्रबार, १३ पुस २०८०, १० : ५२
मुग्लिन–पोखरा सडकखण्ड : जामुनेदेखि पोखरासम्म कालोपत्रको तयारी

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिमखण्ड तनहुँको जामुनेदेखि पोखरासम्म आउँदो माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका निम्ति अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन–पोखरा सडक योजना पश्चिमखण्डका इन्जिनियर नारायणप्रसाद पौडेलले जानकारी दिए ।

केही समयदेखि निकै सुस्त काम भइरहेको यो खण्डमा अहिले कामको गतिले तीव्रता पाएको छ । हालसम्म यो खण्डको प्रगति १४ प्रतिशत मात्र छ । सडक कालोपत्रका निम्ति करिब दुई किलोमिटर बेसको काम सकिएको पौडेलले बताए ।

उनले भने, “पुसको अन्तिम वा माघको सुरुदेखि कालोपत्र हुनेछ । त्यहीअनुसार अहिले काम भइरहेको छ ।” उनका अनुसार हाल चिनियाँ ५० र नेपाली ६० इन्जिनियर यो खण्डमा खटिएका छन् । त्यस्तै, आयोजनास्थलमा ४०० भन्दा बढी नेपाली कामदार परिचालन गरिएको छ ।

सडक आयोजनासँग हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ । यो खण्डअन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म वि.सं. २०७८ जेठ २ गते सम्झौता भई ०७८ भदौ १२ गतेदेखि काम सुरु गरिएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद वि.सं. २०८१ भदौसम्म छ । यो खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको थियो ।

पूर्वीखण्डमा भने काम तीव्र गतिमा अगाडि बढेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वीखण्डमा करिब ४५ प्रतिशत काम सकिएको । पूर्वीखण्डमा १२.५ किलोमिटर एकतर्फी र दुई किलोमिटर दुईतर्फी कालोपत्र सकिएको छ । यसअघि एकतर्फी कालोपत्र सकिएको ठाउँमा दुईतर्फी रूपमा कालोपत्र गर्ने काम भइरहेको पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

यसअघि, आँबुखैरेनी गाउँपालिका–१, सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म ३.५ र बन्दीपुर गाउँपालिका–१, नाहालदेखि छिर्कनेसम्म ५.५ किलोमिटरखण्ड एकतर्फी कालोपत्र भइसकेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको उनको भनाइ छ । पूर्वीखण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ ।

पूर्वीखण्डको कामका निम्ति वि.सं. २०७७ माघ १७ गते सम्झौता भई ०७८ वैशाख २ गतेदेखि काम सुरु गरिएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद ०८१ वैशाखसम्म छ ।

वि.सं. २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । चार लेनको बन्दा सडकसीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ ।

ढाँचाअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

प्रतिक्रिया दिनुहोस