पशुपति क्षेत्र विकास कोषको निर्देशक नियुक्तिसम्बन्धि कागजात ३ दिनभित्र पेस गर्न निर्देशन

सफल खबर संवाददाता

विहीबार, १२ पुस २०८०, १६ : ११
पशुपति क्षेत्र विकास कोषको निर्देशक नियुक्तिसम्बन्धि कागजात ३ दिनभित्र पेस गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्तिको विवरण र योग्यतासम्बन्धी कागजात माग गरेको छ ।

समितिको बिहीबार बसेको बैठकले पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिँदै पुनलाई कार्यकारी निर्देशक नियुक्ति गरेका विषयमा विवरण माग गरेको हो ।‘पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएका कार्यकारी निर्देशकको नियुक्तिसम्बन्धी प्रमाणित कागजातहरू (निर्णयको माइन्युट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र, वैयक्तिक विवरण लगायत) ३ (तीन) दिनभित्र यस समितिमा उपलब्ध गर्न–गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिने, ’समितिको निर्देशनमा उल्लेख छ ।

समितिले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना यथाशक्य चाँडो पारित गरी कार्यान्वयनमा लैजान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तथा कोषाध्यक्षसँग छलफलपछि समितिले आनन्द होटेलसँग भएको सम्झौताका कागजात उपलब्ध गराउन पनि निर्देशन दिइएको छ ।

समितिले कोषको नाममा रहेको सम्पूर्ण जग्गाको शीघ्र यकिन र हालसाविक गरी कोषको नाममा लालपुर्जा लिने व्यवस्था गर्न समेत निर्देशन दिएको छ । समितिका सभापति राजकिशोर यादवले बैठकले पशुपति आर्यघाटमा शवको चापको आधारमा विद्युतीय शव दाह गृहको संख्यामा बढोत्तरी गर्न आवश्यक देखिएकाले सो को प्रबन्ध गर्न समेत कोषलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस