‘आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्ड कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर रूपमा रहने

सफल खबर संवाददाता

विहीबार, १२ पुस २०८०, १५ : ५३
‘आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्ड कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर रूपमा रहने

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्डलद्वारा नेपाल सरकारको आन्तरिक पर्यटकीय अभियान “पहिला घरदेश, अनि परदेश”-आन्तरिक पर्यटनको प्रवर्धन” सन्देश लिई नेपालमा ८ स्थानमा सम्पन्न गर्न लागेको कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर रूपमा रहने भएको छ ।

“हङ्गकङ्ग पोखरा”, “तगारोमा रूमाल”, “लेककी हे माया”, “तिमी पारी”, “डाँडापारी” आदि कालजयी गीतहरू प्रस्तुत गरी नेपाली फोक-पप सङ्गीतमा आफ्नो अमिट छाप छोडेको कन्दरा ब्यान्डले यही २०८० पौष २७ गते पोखराको पोखरा प्रदर्शनी केन्द्रबाट आफ्नो प्रत्यक्ष साङ्गीतिक कार्यक्रम सुरु गर्दै छ । पहिलो कार्यक्रम पोखराबाट सुरु गरी अन्तिम कार्यक्रम काठमाडौंमा समापन गर्ने लक्ष्य कन्दरा ब्यान्डको व्यवस्थापन कम्पनी-एल्फा स्क्वायरले जनाएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा हुन लागेको कार्यक्रममा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालय, उद्योग, पर्यटन, बन, तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा प्रज्ञा-प्रतिष्ठान, लाइन्स क्लब अफ पोखरा – सामीप्य, आदि संघ-संस्थाले प्रवर्धन गरिरहेका छन् भने सो कन्सर्टको एकमात्र एक्सक्लुसिव टिकेटिङ पार्टनर रूपमा आइएमई पे आबद्ध भएको छ, जसले आफ्नो आधिकारिक मोबाइल एपबाट टिकट विक्री गर्ने छ ।

“कन्दरा ब्यान्डले नेपाली फोक(पप सङ्गीतको क्षेत्रमा पुर्‍याएको योगदान र नेपाली कला सङ्गीतबाट नेपालको आन्तरिक पर्यटनका लागि गरिरहेको यो अभियान-पहिला घरदेश, अनि परदेशको नारालाई हामी आइएमई समूह पनि उत्तिकै गर्विलो तवरले वहन गर्दै कन्दराको प्रत्यक्ष कार्यक्रममा सहभागी भई टिकटको विक्री–वितरण गर्दा हामी सङ्गीतको क्षेत्र, पर्यटनको क्षेत्र, र समग्र नेपालको आर्थिक क्षेत्रमा नै योगदान गरिरहेको महसुस गरेको आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताएका छन् ।