पुटिन र जयशंकरबिच भेट, मोदीलाई रुस भ्रमणको निम्ता

सफल खबर संवाददाता

विहीबार, १२ पुस २०८०, ११ : १५
पुटिन र जयशंकरबिच भेट, मोदीलाई रुस भ्रमणको निम्ता

मस्को । रुसको भ्रमणमा रहेका भारतीय विदेशमन्त्रीले बुधबार राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । भेटमा दुई नेताबिच युक्रेन युद्धदेखि विभिन्न  मुद्दामा चर्चा भएको छ । राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी वर्ष रुस आउने निमन्त्रणासमेत दिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार पुटिनले विदेशमन्त्री जयशंकरलाई भनेका थिए, ‘हामीलाई हाम्रो मित्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुसमा हेर्न पाउँदा खुसी हुनेछौँ ।’ विश्वभर उथलपुथल चलिरहँदा रुस र भारतको सम्बन्ध भने मजबुत भइरहेको राष्ट्रपति पुटिनको भनाई थियो ।

पुटिनले युक्रेनसँगको युद्धको बारेमा प्रधानमन्त्री मोदीलाई कयौँपटक जानकारी दिइसकेको पनि बताएका थिए । ‘मलाई थाहा छ, मोदीजी यो सङ्कटको शान्तिपूर्ण समाधान चाहनुहुन्छ । म उहाँसँग भेटेर यस मुद्दामा छलफल गर्न चाहन्छु,’ उनले जयशंकरसँग भने ।

रुसले दुई देशबिचको कारोबार केवल तेल, काइला र ऊर्जासँग सम्बन्धित उत्पादनमा मात्र सीमित नभएको बताएको छ । जयशंकर यसअघि रुसमा भारतका लागि राजदूत रहिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस