चीनको यो विशाल विमानमा के छ विशेष ?

सोमबार, १० पुस २०७४, १२ : २२
चीनको यो विशाल विमानमा के छ विशेष ?

वेइजिङ । चीनमा बनेको एजी ६०० विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक पूरा गरेको छ । यो उडान एक घण्टाको थियो ।
एजी ६०० विश्वकै सबैभन्दा ठूलो एम्फीबियस विमान हो । अर्थात् यो विमान जमिन मात्र नभएर पानीको सतहमा अवतरण गर्नका साथै उडान भर्न सक्छ ।
चीनको सरकारी एजेन्सी सिन्ह्वाले यो विमानलाई ‘समुद्र र द्वीपको रक्षक’ को उपमा दिएको छ । एजी ६०० को कूटनाम कुङ्गलोङ्ग हो । यो दक्षिणी चीन सागरमा चीनले दाबी गर्ने क्षेत्रको अन्तिम भागसम्म पुग्न सक्छ ।

के छ विशेषता ?
यो विमानले दक्षिणी प्रान्त ग्वाङ्गडुङ्गको जुखाई विमानस्थलबाट पहिलो उडान भरेको थियो । यस विमानको आकार बोइङ ७३७ को बराबर छ । यसमा चार टर्बोप्रोप इन्जिन रहेको छ । यो विमानमा ५० यात्रु सवार हुन सक्छन् भने १२ घण्टासम्म लगातार उडान भर्न सक्छ ।
यस विमानलाई विकसित गर्न आठ वर्ष समय लागेको थियो । यसले  ५३.५ टन वजन बोक्न सक्छ । यसको पंखाको विस्तार ३८.८ मिटर रहेको छ ।
यसमा विमानलाई अग्नी नियन्त्रण, समुद्री बचाउको साथै सैन्य सेवामा पनि प्रयोग गर्न सकिनेछ । यसलाई दक्षिणी चीन सागरको विवादीत क्षेत्रमा प्रयोग गर्न सकिनेछ ।
विमानको उडानको सरकारी टिभीमा प्रत्यक्ष प्रशारण गरिएको थियो । विमानले अवतरण गर्दा सेनाको संगीतको बीच सर्वसाधारणले झण्डा हल्लाएर अभिवादन गरेका थिए ।
चीनले यस्ता १७ विमानको अर्डर दिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस