दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा

सफल खबर संवाददाता

विहीबार, ०५ पुस २०८०, ०९ : ०५
दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा

भरतपुर (चितवन) । पुसको कठ्याङ्ग्रिँदो चिसोमा न खुट्टामा चप्पल छ, न शरीरमा लगाउने न्यानो कपडा । थरथर काम्दै विद्यायलको बेञ्चमा बसेर पढिरहेका छन् चितवनको कालिका नगरपालिका–१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिका ।

अधिकांश चेपाङ बालबालिका अध्ययनरत यस विद्यालयमा अझ कतिपय बालबालिका त भोको पेटमा नै विद्यालय आउँछन् । विद्यालयमा खाजा खान पाइने भएकैले विद्यालय आउने बालबालिका विद्यालयमा सरकारले बजेट छुट्याएको दिवा खाजासमेत रोकिँदा विद्यायल आउनै छाडेका छन् ।

कक्षा ३ मा अध्ययनरत मनिषा चेपाङ खाली खुट्टा स्कुल पुग्ने गरेका छन् । उनको पोशाक पनि थोत्रिइसकेको छ । बुवाआमासँग पैसा नहुँदा सधैँ खाली खुट्टा विद्यालय आउनुपरेको उनले सुनाए । ‘चप्पल, जुत्ता लगाउने मन त छ नि’, उनले भने, ‘बुवाआमासँग पैसा छैन, कहाँबाट चप्पल लगाउन पाउनु ।’ उनले धेरै पढ्ने मन हुँदाहुँदै पनि घरको अवस्थाले सोचेअनुसार पढ्न नसकेको बताए ।

कक्षा ३ मै पढ्ने उर्मिला चेपाङ कक्षाकोठामा दुई वर्षको भाइलाई काखमा राखेर पढिरहेका छन् । उनको ध्यान पढाइमा भन्दा भाइतिर बढी छ । घरी किताब त घरी काखमा निदाइरहेको भाइको मुखमा हेर्दै पढिरहेका छन् उनी । बाआमा काममा गएकाले घरमा हेर्ने कोही नभएपछि भाइलाई पनि विद्यालय बोकेर आएको उनले बताए । उनका दाइ र बहिनी पनि यसै स्कुलमा अध्ययनरत छन् । तीनैजना अध्ययन गर्ने एउटै कोठा र बेञ्च पनि एउटै छ । घरमा भात नपाक्दा चारैजना भोको पेटमै विद्यालय आएको उर्मिलाले सुनाइन् ।

कक्षामा रहेका विद्यार्थी कोही भोकै छन्, कोही नाङ्गै, कतिको खुट्टा खाली छ । विद्यालय पोशाकसमेत नभएका कतिपय बालबालिका थुरथुर काँपेरै पढिरहेका छन् । कुनै पनि विद्यार्थीसँग कपी, किताब बोक्ने झोला छैन । यो विद्यालयमा सरकारले खुवाउने गरेको दिवा खाजासमेत रोकिएको छ । शिक्षक रामलाल चेपाङका अनुसार करिब डेढ महिनादेखि जिङ्लाउका विद्यार्थीले खाजा खान पाएका छैनन् ।

यो विद्यालय नान्दरमा रहेको आधारभूत विद्यालयको शाखा विद्यालय हो । दूरीका कारण बालबालिकालाई विद्यालय पुग्नै कठिन भएपछि कालिका–१० नान्दरस्थित राष्ट्रिय आधारभूत विद्यालयलाई दुई ठाउँमा विभाजन गरेर कक्षा सञ्चालन गर्दा विद्यार्थी र शिक्षक पनि बाँडिएका हुन् । विसं २०७० देखि सञ्चालनमा आएको जिङ्लाउमा मात्रै ३५ विद्यार्थी भएका छन् । तर नियमित विद्यालय आउनेको सङ्ख्या भने १५ देखि २५ जनासम्म हुने शिक्षक रामलाल चेपाङले बताए । विद्यालयमा उनमात्रै एक जना शिक्षक छन् । उनले तीनवटै कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउने गरेका छन् ।

नान्दरमा पढ्नेहरूका लागि भने नियमित खाजा खुवाउने काम भइरहेको छ । जिङ्लाउका विद्यार्थी दिवा खाजाबाट बञ्चित भएको विषयबारे विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार सबै बेखबर छन् ।

विद्यालयका प्रधानाध्यापक खुमराज भट्ट भने दिवा खाजा नरोकिएको दाबी गरे । दुईतिरै निगरानी गरिरहेको जनाउँदै उनले अहिलेसम्म दिवा खाजा नरोकिएको बताए । ‘अभिभावकलाई खाजाको व्यवस्था गर्नु, सरकारी पैसा विद्यालयको खातामा जम्मा भएको छ । पछि विद्यार्थीको हाजिरी हेरेर पैसा दिन्छु भनेको छु’, उनले भने । तर शिक्षक चेपाङ भने विद्यार्थीलाई खाजा खुवाउन सक्ने क्षमता यहाँका कुनै पनि अभिभावकसँग नहुँदा खाजा दिनुको विकल्प नभएको बताए । दिवा खाजाको प्रबन्ध नहुँदा त्यसको असर विद्यार्थीमा परेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस