उखुको समर्थन मूल्य प्रतिक्युटल ५६५ रुपैयाँ तोक्ने सहमति भएको छ : पूर्व मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

मंगलबार, ०३ पुस २०८०, ०९ : ३२
उखुको समर्थन मूल्य प्रतिक्युटल ५६५ रुपैयाँ तोक्ने सहमति भएको छ : पूर्व मन्त्री श्रेष्ठ

बारा । पूर्व मन्त्री तथा बारा क्षेत्र नम्बर ४ का सङ्घीय सांसद किसान श्रेष्ठले यस वर्ष उखुको मूल्य प्रतिक्युटल ५६५ रुपैयाँमा सहमति भएको बताएका छन् ।

कृषि अनुसन्धान निर्देशनालय परवानीपुरमा कृषि यान्त्रीकरण तालिमको समापन कार्यक्रममा बोल्दै सङ्घीय सांसद श्रेष्ठले उखुको  ५६५ रुपैयाँ प्रतिक्युटलमा सहमति भएर सो प्रस्ताव कृषि मन्त्रालयबाट मन्त्रीपरिषद्मा पुगिसकेको बताए । 

चिनी उद्योग तथा उखु किसानहरूको समस्या समाधान उपसमिति संयोजक समेत रहेका श्रेष्ठले देशभरका चिनी मिलले उखु र्किर्सङ्ग सुरु गरे पनि  किसानहरूले नयाँ दररेटमा रकम पाउने बताएका छन् ।  

गत वर्ष अनुदान बाहेक मिलले उखुको मूल्य प्रतिक्युटल ५४० रुपैयाँ र प्रतिक्युटल ७० रुपैयाँ  सरकारले अनुदान स्वरूप दिएको थियो । 

यस वर्ष मिलले दिने रकममा पहिलो चरणमा ११ रुपैयाँ बढाएर प्रतिक्युटल ५५१ रुपैयाँ तोक्ने छलफल भए पनि सङ्घीय सांसद श्रेष्ठले सो रकम न्यून भएको भन्दै चौतर्फी दबाब पछि प्रतिक्युट ५६६ मा सहमति भएको बताए । 

‘चिनी उद्योग तथा उखु किसानहरूको समस्या समाधान उपसमिति संयोजक भएको हिसाबले मूल्य निर्धारण समितिका सदस्य कृषि मन्त्रालय र अर्थ मन्त्रालयको सचिव, सहसचिवलाई बोलाएर ५५१ रुपैयाँ साह्रै थोरै भयो भनेपछि  प्रतिक्युटल ५६५ रुपैयाँ सहमति भएको छ’ सङ्घीय सांसद श्रेष्ठले भने ‘केही जिल्लाका किसानहरू यसमा पनि असन्तुष्ट पनि हुनुहुन्छ, सर्लाहीमा चिनी मिल चल्न नदिएको भन्ने पनि छ ।’ 

श्रेष्ठले धनगढी सहित पश्चिमका जिल्लाहरूको भ्रमणको क्रममा  किसानहरूले उखुको मूल्य बढाउन भन्दा उन्नत जातको बिउ उपलब्ध माग गरेको बताए ।