काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको युगमा सबै चिज राजधानीमा मात्र केन्द्रित गरेर नहुने बताएका छन् । उनले मुलुकको राजधानी काठमाडौँ प्रशासनिक केन्द्र र ऐतिहासिक स्थल भएको तर सबै चीज राजधानीमा केन्द्रित गर्नुपर्छ भन्ने सोच राख्न नहुने बताए ।
सिद्धार्थ सञ्जाल रुपन्देहीले भैरहवामा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै डा. भट्टराईले भने, ‘अहिलेको युगमा भारतको अर्थतन्त्रसँग बढी नजिक र चीनको अर्थतन्त्रको पनि सम्भावना भएको मुलुकमा सबै चिज राजधानीमा मात्र केन्द्रित गरेर हुँदैन ।’
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले आधुनिक अर्थतन्त्रका केन्द्रहरू अब काठमाडौँमा मात्र केन्द्रित हुन नसक्ने बताए ।उनले प्रतिस्पर्धी अर्थतन्त्रमा आफ्नो क्षेत्रमा अरूलाई पस्न दिँदैनौँ भन्ने सोच राखे त्यो आधुनिक अर्थतन्त्रसँग मेल नखाने बताए ।
उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन गर्न श्रम भिसा सेन्टर, श्रम कार्यालय, स्वास्थ्य केन्द्रलगायतका पूर्वाधार स्वतः रहनुपर्ने बताए ।नेता भट्टराईले एअर रुटका लागि भारत सरकारसँग केन्द्र सरकारले उच्चस्तरमा पहल गर्नुपर्नेमा जोड दिए । विमानस्थल पूर्ण सञ्चालन गर्न साथ, सहयोग र पहल गर्ने बताउँदै उनले विमानस्थल नियमित सञ्चालन हुन नसके सरकार र निजी क्षेत्रको खर्बौँको लगानी डुब्ने चिन्ता रहेको उल्लेख गरे ।
विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग राख्दै सिद्धार्थ सञ्जाल रुपन्देहीले मंसिर २४ गतेदेखि विमानस्थलको प्रवेशद्वार अगाडि धर्ना सुरु गरेको छ । डा. भट्टराईले विशेष आर्थिक क्षेत्र (सेज) हालसम्म राम्रोसँग सुचारु हुन नसक्दा आर्थिक विकास र रोजगारी सिर्जनामा असर पुगेको बताए । उनले पूर्वाधार बनाएर खाली राख्न नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ पुस २०८०, १९ : ४६
लेखकबाट थप