रुस युक्रेन युद्धमा संलग्न नेपालीको उद्धार गर्न आयोगको आग्रह

सफल खबर संवाददाता

आइतबार, ०१ पुस २०८०, १५ : ४४
रुस युक्रेन युद्धमा संलग्न नेपालीको उद्धार गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको  छ । केही नेपाली रूसी र युक्रेनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मृत्यु भएको र केही घाइते भएको भन्दै आयोगले उक्त युद्धमा सहभागी नेपालीको उद्धार गर्न आग्रह गरेको हो ।

केही घाइते नेपाली अस्पतालमा उपचाररत रहेका, केही विपक्षी सेनाको नियन्त्रणमा रहेका र सयौँको सङ्ख्यामा दुवैतर्फको सेनामा नेपालीहरू संलग्न रहेको बुझिन आएको भन्दै आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली नागरिकहरू जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुन जान्छ ।’

साथै युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न, स्वदेश फर्कन चाहने नेपालीहरूलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन आयोगले सरकारलाई आग्रह गरेको छ ।