भुटानी शरणार्थी प्रकरणमा समातिएका बालकृष्ण खाण आज रिहा हुँदै

सफल खबर संवाददाता

शुक्रबार, २९ मंसिर २०८०, ०८ : ५१
भुटानी शरणार्थी प्रकरणमा समातिएका बालकृष्ण खाण आज रिहा हुँदै

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाण सात महिनापछि आज रिहा हुँदै छन् । बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश दिएपछि नेता खाण शुक्रवार धरौटी बुझाएर रिहा हुन लागेका हुन् । 

खाण पक्षका वकिल वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले उच्चको आदेशबमोजिम शुक्रवार काठमाडौँ जिल्ला अदालतमा धरौटी बुझाएपछि खाण रिहा हुने बताए । ‘उच्च अदालतको आदेश जिल्ला अदालतमा दर्ता हुन्छ । त्यसपछि धरौटी बुझाएर उहाँ रिहा हुनुहुन्छ,’ घिमिरेले भने, ‘कारागारबाट उहाँलाई सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा केही बेर हाजिर गराउनुपर्नेछ ।’ 

खाणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बैशाख २७ गते प्रहरीले पक्राउ गरेको थियो । उनी विरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएकोमा उच्च अदालतले बदर गरिदिएको हो । यसअघि उच्चका दुई न्यायधीशहरूबीच राय बाझिएपछि बिहीबार तेस्रो न्यायाधीशसमक्ष पेस गरिएको थियो । न्यायाधीश कोइरालाले ३० लाख रुपैयाँ धरौटी लिएर छोड्न आदेश दिने पक्षमा राय राखेका हुन् । 

यसअघिको इजलासमा न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्ने राय राखेकोमा अर्का न्यायाधीश प्रकाश खरेलले खाँणलाई थुनामा पठाउनुपर्ने राय राखेका थिए । त्यसबेला न्यायधीशद्धय पाण्डे र खरेलको संयुक्त इजलासले ९ जनालाई थुनामै राखिरहन आदेश दिएको थियो भने भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित ६ जनालाई धरौटीमा रिहा गर्न र बाँकी ४ जनालाई साधारण तारिखमा रिहाइको आदेश दिएको थियो । 

अमेरिका लैजाने प्रलोभनमा नक्कली भुटानी शरणार्थी खडा गरी करोडौं रकम सङ्गठित रूपमा असुलेको अभियोगमा सरकारले गत जेठ १० गते पूर्वमन्त्रीद्वय खाँण र टोपबहादुर रायमाझीसहित ३० जना विरुद्ध जिल्ला अदालत काठमाडौँमा सङ्गठित अपराधसहित किर्ते र ठगीमा मुद्दा दायर गरेको थियो । 

अभियोग खेपिरहेका १८ र फरार १२ गरी ३० मध्ये दुई पूर्व मन्त्री तथा गृह सचिवसहित १६ अभियुक्तलाई असार १ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । 

प्रतिक्रिया दिनुहोस