दीपक मनाङेले दिए एग्रो मनाङ प्रालिविरुद्ध अख्तियारमा उजुरी

सफल खबर संवाददाता

विहीबार, २८ मंसिर २०८०, १५ : ३२
दीपक मनाङेले दिए एग्रो मनाङ प्रालिविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले एग्रो मनाङ प्रालिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । अवैध तरिकाले जग्गा हडपेर फार्म सञ्चालन गरेको, वन फँडानी गरेको आरोपमा उनले उजुरी दिएका हुन् । बिहीबार पत्रकार सम्मेलनमार्फत उनले सो जानकारी गराएका हुन् । सो फार्म पूर्वसांसद तथा नेकपा (एमाले)का नेता पाल्देन छोपाङ गुरुङको हो ।

फार्म मनाङेको निर्वाचन क्षेत्रमा पर्छ । स्थानीयले गाउँमा विद्युत्को समस्या सुनाएको र एग्रो मनाङका कर्मचारीले विद्युत् पोल गाड्न नदिएपछि आफू त्यहाँ पुगेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । त्यहाँ पुगेर निरीक्षण गर्दा सिङ्गो वन फँडानी भएको, अवैध तरिकाले रुखहरू काटिएको र काठहरू अव्यवस्थित रूपले राखिएको पाएको उनले बताए ।

गैरकानुनी काम भइरहेको देखेपछि आफू कानुनी बाटोबाट त्यसलाई रोक्नतर्फ लागेको भन्दै उनले करिब ३८ रोपनी जग्गामा रुखहरू फँडानी गरिएको, पिसाङमै रहेको जनकल्याण प्राविको जग्गामा मदिरा कारखाना पनि खोलिएको आरोप लगाएका छन् ।

मनाङ मर्स्याङ्दी क्लबसँग सम्झौता गरेर एग्रो मनाङले अवैध तरिकाले जग्गा लिजमा लिएको उनको आरोप छ । सोही फार्मले राज्य संयन्त्रबाट करोडौँ अनुदान, सहुलियत ऋण लिएको हुँदा अनुदानदाता निकायबाट पनि गम्भीर त्रुटि भएको उनको ठहर छ ।

प्रतिक्रिया दिनुहोस