समूह चरणमा सिटीको शतप्रतिशत जित

एजेन्सी

विहीबार, २८ मंसिर २०८०, १० : १९
समूह चरणमा सिटीको शतप्रतिशत जित

एजेन्सी । गत सिजनको तेहेरो उपाधि विजेता म्यानचेस्टर सिटीले यूईएफए च्याम्पियन्स लिगको समूह चरणमा शतप्रतिशत जित निकालेको छ । बुधबार समूह चरणको अन्तिम खेलमा घरेलु टोली रेड स्टारविरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्दै सिटीले अपराजित यात्रा कायम राखेको हो ।

रेड स्टार रंगशालामा सिटीलाई जित दिलाउन मिका ह्यामिल्टन, ओस्कार बब र केल्भिन फिलिप्सले गोल गरे । रेड स्टारका लागि ह्वांग इन बिम र अलेक्जेन्डर कटाईले गोल फर्काए ।

खेलको १९औँ मिनेटमा ह्यामिल्टनको गोलमार्फत सिटीले अग्रता लिएको थियो । ६२औँ मिनेटमा बबले टोलीको अग्रता दोब्बर बनाए ।

७६औँ मिनेटमा इन बिमले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदा फिलिप्सले पेनाल्टीमार्फत गोल गर्दा सिटी ३–१ ले अगाडि बढ्यो ।

इन्ज्युरी सयमा कटाईले गोल गर्दै रेड स्टारलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।

यही समूहको अर्को खेलमा आरबी लाइपजिगले योङ ब्वाइजमाथि २–१ को जित निकाल्यो ।

शतप्रतिशत जितका साथ सिटी १८ अंक जोडेर समूह ‘जी’को शीर्ष स्थानमा रह्यो । पराजित रेड स्टार एक अंकका साथ पुछारमा रहेर बाहिरिएको छ । यो समूहबाट सिटी र लाइपजिग प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस