देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्नेमा पूर्वप्रधानन्यायाधीश कार्कीको जोड

सफल खबर संवाददाता

आइतबार, २४ मंसिर २०८०, २० : ०५
देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्नेमा पूर्वप्रधानन्यायाधीश कार्कीको जोड

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी छन् । आइतबार मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित ‘लोकतन्त्रको प्राण: सुशासन र सद्भाव’विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै पूर्वप्रधान न्यायाधीश कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी हुन् । उनले देशमा सबै कुराहरू राम्रो भएपनि नेताहरू भने भ्रष्ट रहेका बताइन् । 

पूर्वप्रधानन्यायाधीश कार्कीले भोलि आउने नेताहरू पनि भ्रष्ट हुने अवस्था रहेको भन्दै देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनु जरुरी रहेको बताइन् । उनले भ्रष्टाचारको सन्दर्भमा नेताहरूलाई मात्रै दोष दिन भने नमिल्ने बताइन् । उनले देशमा भ्रष्टाचार गर्न अघि नबढ्ने कोही नभएको भन्दै सबैले भ्रष्ट मानसिकतालाई त्याग्नुपर्ने बताइन् ।

पूर्वप्रधान न्यायाधीश कार्कीले सरकारको मानसिकता ‘जफत गर्ने’ मात्रै भएको टिप्पणी गरिन् । उनले नागरिकसँग भएका जेथाहरू समेत राजनीतिक दलका कार्यकर्ताहले जफत गर्ने गरेका बताइन् । उनले राजनीतिक दलहरू सँग गुण्डा, फटाहा र मवाली मात्रै कार्यकर्ताहरू रहेका बताइन् । आम नागरिकमा आर्थिक अभाव भएपनि दलका कार्यकर्ताहरूसँग भने करोडौँ सम्पत्ति भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस