वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत निर्यात

सफल खबर संवाददाता

शुक्रबार, २२ मंसिर २०८०, १२ : ३४
वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत निर्यात

काठमाडौं । यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत भारत निर्यात गरिएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् गत २८ जेठबाट भारतीय बजारमा बिक्री गर्न सुरु गरेको थियो ।

प्राधिकरणले यस वर्षको जेठदेखि २० मंसिरसम्ममा १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । प्राधिकरणले यस अवधिमा दैनिक रुपमा अधिकतम ७०० मेगावाटसम्म विद्युत निर्यात गरेको थियो । निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रतियुनिट  ८ रुपैयाँ ७७ पैसा छ ।

चालु आर्थिक वर्ष २०८०-८१को साउनदेखि २० मंसिरसम्ममा १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । यस अवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ । निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ९६ पैसा छ ।

सुख्खायाम सुरु भएसँगै खोला र नदीमा पानीको बहाव घटेकाले देशभित्रका जलविद्युत गृहहरुबाट उत्पादन घट्न सुरु भएको छ । तर जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत आयात सुरु भएको छ । जसकारण शुक्रबार रातिबाट विद्युत् निर्यात बन्द हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस