सुन तस्करी जाँचबुझ आयोगले आज राहुलसँग बयान लिदै

सफल खबर संवाददाता

मंगलबार, १९ मंसिर २०८०, ११ : १४
सुन तस्करी जाँचबुझ आयोगले आज राहुलसँग बयान लिदै

काठमाडौँ । सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले तस्करीमा संलग्नहरूको बयान लिन थालेको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा ६० किलो सुन तस्करीमा संलग्न प्रतिवादीहरूसँग बयान लिन सुरु गरिएको हो । आयोगका पदाधिकारीहरूले अहिलेसम्म तस्करीमा संलग्न १० जनाको बयान लिएका छन् । 

मुद्दा पुर्पक्षका लागी केन्द्रीय कारागारमा थुनामा रहेकाहरूलाई आयोगका पदाधिकारीहरूले बोलाएर बयान लिएका हुन् । केन्द्रीय कारागारमा कार्यरत एक जना अधिकृतका अनुसार सोमबार सम्म १० जनालाई आयोगले बोलाएको छ ।

आयोगले मंगलबार राहुल महरासँग बयान लिँदै छ । बयानका लागी राहुललाई उपस्थित गराउन आयोगले केन्द्रीय कारागारमा पत्राचार गरेको हो । भेपमा लुकाएर सुन तस्करी गरेको घटनामा संलग्न प्रतिवादी राहुल अहिले पुर्पक्षका लागि केन्द्रीय कारागारमा छन् । जिल्ला अदालत काठमाडौँले असोज २६ मा राहुललाई थुनामा पठाउन आदेश गरेको हो ।

२०८० असोज १४ मा मन्त्रिपरिषद्ले डिल्लीराज आचार्यको अध्यक्षतामा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस