सुन्तला उत्पादन वृद्धि हुँदा किसान उत्साहित

सफल खबर संवाददाता

सोमबार, १८ मंसिर २०८०, ०८ : ४२
सुन्तला उत्पादन वृद्धि हुँदा किसान उत्साहित

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँसाका किसान यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन्। 

मौसम अनकूल र नयाँ बोटमा फल राम्रो लागेका कारण सिरौँसामा यस वर्ष सुन्तलाको उत्पादन बढेको हो।  

सुन्तला पकेट सञ्चालक समिति सिरौँसाका अध्यक्ष रामप्रसाद भण्डारीले सिरौँसामा अघिल्लो वर्ष रु दुई करोडको सुन्तला बिक्री भएको र यस वर्ष अघिल्लो वर्षको तुलनामा रु ५० लाख मूल्य बराबरको सुन्तला उत्पादनमा वृद्धि भएको जानकारी दिए। 

विसं २०७० देखि यहाँ सुन्तला पकेट क्षेत्र घोषणा गरेर ‘सुन्तला पकेट क्षेत्र’ कार्यक्रम सञ्चालन गरिएको छ । यहाँको सुन्तला पकेट क्षेत्रमा ६०  कृषक छन् । यहाँ उत्पादित सुन्तला, काठमाडौँ, बुटवल, पोखरा, कावसोती, इटहरी, धादिङ, इनरुवालगायतका जिल्लामा निर्यात हुने गरेको छ।

कृषि ज्ञान केन्द्र स्याङ्जा, सुन्तला सुपरजोन स्याङ्जा, बाली संरक्षण कार्यालय पोखराले सिरौँसामा सुन्तलासम्बन्धी प्रशिक्षण, अनुदान, परामर्श, बीउबिजनमा सहयोग गर्दै आएको छ । ती निकायले पक्की ट्याङ्की, प्लास्टिक ट्याङ्की, प्लास्टिक पोखरी निर्माण गरिदिएका छन् । यहाँ सुन्तला आईपिएम पाठशालासमेत सञ्चालनमा छ।

अध्यक्ष भण्डारीका अनुसार यहाँका ९० प्रतिशत कृषकको मूख्य पेसा नै सुन्तला उत्पादन हो। ‘सिरौँसाका अधिकांशको रोजीरोटी सुन्तलाले नै चलेको छ’, उनले भने, ‘यस क्षेत्रमा सुन्तला उत्पादनको अत्यन्त राम्रो सम्भावना भएकाले युवा विदेश छोडेर सुन्तलाखेतीतर्फ लागेका छन्।’ 

गल्याङ नगरपालिकाले सुन्तला उत्पादक कृषकलाई सहयोग नगर्दा बजारीकरणमा समस्या भएको गुनासो उनले गरे। यहाँ उत्पादित सुन्तला एक क्विन्टल बराबरको रु सात हजारसम्ममा ठेकेदारले किन्छन् भने विभिन्न व्यापारीले ग्रेडिङका आधारमा प्रतिकिलो रु ५० देखि ८० मा खरिद गर्ने गर्छन्।  

‘सिँचाइ, बिरुवा, बाली उपचार, अनुदान, बजारीकरण, परामर्शलगायतका धेरै विषयमा नगरपालिकाले सहयोग गर्ने ठाउँ छ’, उनले भने, ‘सिँचाइको चरम अभावका कारण हुनुपर्ने जति सुन्तला उत्पादन भएको छैन, सिँचाइको सुविधा मात्र भए ५० प्रतिशतले उत्पादन बढाउन सकिन्थ्यो।’ 

जिल्लामै सिरौँसा सुन्तला उत्पादनका लागि प्रख्यात भए पनि नगरपालिका अनुगमनसमेत गर्न नआएको उनले गुनासो गरे।

‘यहाँका कृषकले व्यक्तिगतरुपमा सुन्तला बिक्री गर्दै आएका छन्, बजारको एकरुपता छैन, जसका कारण धेरै किसान ठेकेदार र व्यापारीबाट ठगिँदै आएका छन्’, अध्यक्ष भण्डारीले भने, ‘सबै गाउँलेको घरखर्च सुन्तला बेचेरै चलेको छ, सुन्तला व्यवसायमा लाग्ने किसान निक्कै उत्साहित छन्, धेरैले सुन्तला नै बेचेर छोराछोरी पढाउने, दुईचार रुपैयाँ जम्मा गर्ने गरेका छन्।’

अध्यक्ष भण्डारीले व्यक्तिगत रुपमा यस वर्ष रु २५ लाखको सुन्तला उत्पादन गरेको दाबी गरे। ‘अघिल्लो वर्ष रु २२ लाखको सुन्तला बिक्री गरेको थिएँ’, उनले भने, ‘यो वर्ष मौसम अनकूलताका कारण गाउँमै सुन्तला उत्पादन बढेको छ, आशा छ राम्रो मूल्य पाउने छौँ।’ 

प्रतिक्रिया दिनुहोस