पर्सा। पर्साको वीरगञ्जस्थित मनोज ग्यास उद्योगले म्याद गुज्रेका सिलिन्डर नष्ट गर्न थालेको छ ।सिलिन्डरको हाइड्रोलिक परीक्षण गरी म्याद गुज्रेको सिलिन्डर नष्ट गर्न शुरू गरिएको मनोज ग्यासका सञ्चालक मनोजकुमार दासले जानकारी दिए ।
पहिलो चरणमा म्याद गुज्रेको एक हजार २७ वटा सिलिन्डर विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको रोहवरमा जगदम्बा स्टिल प्रालिको सहयोगमा नष्ट गरिएको उनले बताए ।सिलिन्डर निर्माण भएको १० वर्षमा हाइड्रोलिक परीक्षण गर्नुपर्ने र सो क्रममा गुणस्तरहीन देखिने सिलिन्डर नष्ट गर्नुपर्ने व्यवस्था भएअनुसार परीक्षण गर्दा गुणस्तरहीन पाइएका एक हजार २७ वटा सिलिन्डर नष्ट गरिएको सञ्चालक दासको भनाइ छ ।
उनका अनुसार पहिलो चरणमा ६४८१७४ टी, २०९३ टी, ५५२६८ टी, ३९४६५२ एपीएल, ३९४६५२ टी र १८२३ टी सिरियल नम्बर भएको सिलिन्डरहरू नष्ट गरिएको छ ।क्रमशः ५/५ वर्षमा सिलिन्डरको हाइड्रोलिक परीक्षण गरिने र गुणस्तरहीन पाइने सिलिन्डरहरू पनि नष्ट गरिने उनले बताए ।
सिलिन्डर नष्ट गर्ने क्रममा वीरगञ्ज महानगरपालिका–२१ का वडाअध्यक्ष राधाकृष्ण रौनियार, नापतौल तथा गुणस्तर कार्यालय वीरगञ्जका रामप्रसाद लम्साल, उपभोक्ता तथा वाणिज्य कार्यालयका सूचना अधिकारी दिलीप खङ्ग, नेपाल आयल निगमका वेब प्रशिक्षक यशबहादुर गुरुङ सञ्चारकर्मीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ मंसिर २०८०, १५ : ५३
लेखकबाट थप