आईसीसी क्रिकेट वर्ल्डकपको लिग टुको पहिलो सिरिज नेपालमा हुने, तीन राष्ट्रले खेल्दै

सफल खबर संवाददाता

शुक्रबार, १५ मंसिर २०८०, १५ : ५४
आईसीसी क्रिकेट वर्ल्डकपको लिग टुको पहिलो सिरिज नेपालमा हुने, तीन राष्ट्रले खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टुको पहिलो सिरिज आगामी फाुगन ५ गतेबाट नेपालमा हुने भएको छ । काठमाडौंमा हुने पहिलो सिरिजमा नेदरल्याण्ड्स र नामिबियासहित नेपालले खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

नेपालले दुवै टोलीसँग समान दुई खेल खेल्नेछ । लिग टूको यो दोस्रो संस्करण हो जुन २०२७ सम्म चल्नेछ । यो संस्करणमा ८ टीम नेपाल, युएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा छन् । त्रिकोणात्मक सिरिजको रुपमा खेल्नेछन् । नेपालले सबै देशसँग भ्रमण गर्नेछ ।

नेदरल्यान्ड्सले यसै पटकदेखि लिग-२ नै खेल्ने भएको हो । नेदरल्यान्ड्सले २०१९ देखि २०२३ सम्म १२ टेस्ट टोलीसँग सुपर लिग खेलेको थियो । तर सुपर लिगबाट नेदरल्यान्ड्सलाई लिग २ मा झारेको हो ।

लिग-२ को ढाँचा, ओडिआई मान्यता निरन्तरता, विश्वकप छनोटमा सोझै कति टोली पुग्ने आइसिसीले कुनै जानकारी दिएको छैन । आईससिीले २०२७ को विश्वकप रोडम्याप सार्वजनिक गर्दा यी सबै खुलाउनेछ ।

यसअघि २०१९ देखी २०२३ सम्म चलेको लिग २ मा नेपालले तेस्रो स्थानमा रहँदै जिम्बावेमा विश्वकप छनोट खेलेको थियो । यसअघिको लिग २ मा शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाएका थिए । यो लिग-२ पनि २०२७ को विश्वकप छनोटको चरण हो ।

प्रतिक्रिया दिनुहोस