आध्यात्मिक सांगितीक व्याण्ड ‘सत्याकृत’ को नयाँ गीत सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०७५, १९ : २६
आध्यात्मिक सांगितीक व्याण्ड ‘सत्याकृत’ को नयाँ गीत सार्वजनिक

चितवन । प्रेम, शान्ति र सद्भावको भाव दिन स्थापित नेपालको एकमात्र आध्यात्मिक सांगीतिक समूह सत्याकृत व्याण्डको नयाँ गीत सार्वजनिक भएको छ ।
यूट्युब च्यानलमार्फत सार्वजनिक भएको ‘जिन्दगीको के सार हुनु यदि सत्यको आधार नहुनु’ बोलको गीतमा व्याडका प्रजित लामाले स्वर दिएका छन् ।

बुढासुब्बा म्युजिकले बजारमा ल्याएको यो म्युजिक भिडियोको छायांकन दुबईमा गरिएको हो ।
युवाहरुमा नैतिक जागरण तथा सांस्कृतिक जगेर्ना गर्न सकारात्मक पहल गर्ने उद्देश्यले पाँच वर्ष अगाडि विजय गौतमको अध्यक्षतामा सत्याकृत फाउण्डेसन स्थापना भई सोहीअन्तर्गत व्याण्डको स्थापना भएको हो । आमश्रोता तथा दर्शकहरुमा प्रेरणादायी र सकारात्मक भाव दिने उद्देश्यले पूर्वेली र पश्चिमेली शैलीका गायन र वाद्यवादनलाई समिश्रित गरेर गीत, भजन बनाएर प्रस्तुत गर्ने काम ब्याण्डले गरेको छ । ‘सत्याकृत’ र ‘सत्यश्री’ गरेर दुईवटा एल्बम बजारमा ल्याएको व्याण्डले नेपालका प्रमुख शहरहरुलगायत भारत र दुबईमा आफ्नो प्रस्तुति दिइसकेको छ । यस व्याण्डमा सुरसाधु, प्रजित लामा, विदुर न्यौपाने, किरण गौतम, अर्जुन सुनार, लक्ष्मण बयलकोटी, सुरज रिजाल, कमल भण्डारी रहेका छन् । व्याण्डका सबै सदस्यहरुले त्रिभुवन विश्वविद्यालयबाट संगीत विषयमा स्नातक र स्नात्तकोत्तर गरेका छन् ।
यस व्याण्डका सदस्य सुरसाधुले नेपाल बुद्धको भूमि र शिवको भूमि, ऋषिमुनिहरुले तपस्या र ध्यान गर्ने देश भएकोले यसप्रकारका आध्यात्मिक गीतहरुको सामाजिक महत्व ठूलो रहेको बताए । व्याण्डका सदस्य सुरसाधु भरतपुर महानगरपालिका– २७ मेघौलीको तेलौलीका हुन् । उनले भने, ‘ विश्वको शीर मानिएको सगरमाथाको देश नेपाल अपवित्र भए विश्वनै अशान्त र विशुद्ध हुने भएकोले संगीतमार्फत् विश्वलाई सकारात्मक सन्देश दिन हामी लागेका छौं ।’

 

प्रतिक्रिया दिनुहोस