मुलुकको बागडोर एमालेको हातमा ल्याउने लक्ष्यसहित महाकाली-मेची अभियान : विष्णु पौडेल

सफल खबर संवाददाता

बुधबार, १३ मंसिर २०८०, ११ : १०
मुलुकको बागडोर एमालेको हातमा ल्याउने लक्ष्यसहित महाकाली-मेची अभियान : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुकको बागडोर एमालेको हातमा ल्याउने लक्ष्यसहित मध्यपहाडी लोकमार्ग लक्षित महाकाली-मेची अभियान शुरु गर्न लागिएको बताएका छन् ।

यो अभियानबाट २०८४ सालमा हुने आम निर्वाचनको नतिजा एमाले अनुकुल बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।‘यो मिसन ८४ को एउटा अभियानका रुपमा बुझ्दा पनि हुन्छ । यसले २०८४ को निर्वाचन नतिजालाई अनुकूल बनाउनका लागि योगदान गर्दछ,’ उनले भने ।

मंसिर १४ गते (बिहीबार) बिहान बैतडी जिल्लाको झुलाघाटबाट शुरु भएर पुस २ गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुने यो अभियानलाई एमालेले ‘संकल्पको यात्रा’ नाम दिएको छ । अभियान उदघाटनका लागि नेकपा एमालेका अध्यक्ष सुदूरपश्चिम पुगिसकेका छन् ।

एमाले उपाध्यक्ष पौडेलले अभियानको सबै तयारी पूरा भइसकेको बताए ।न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पौडेलले भनेका छन्, ‘नेकपा एमाले बाहेक अरु कसैले पनि मुलुकलाई समृद्धि र सामाजिक न्यायतर्फ डोर्याउन, नेतृत्व गर्न र अघि बढाउन सक्दैन भन्ने कुरा स्पष्ट भइसकेको छ । त्यस अर्थमा नेकपा एमालेको हातमा मुलुकको बागडोर आउनुपर्दछ भन्ने मान्यता हो ।’

यो अभियानबाट पार्टी जनतासँग घनिष्ठ रुपले जोडिने र एमालेको विश्वास छ । साथै देशको मध्यपहाडी भूभागको आर्थिक, सामाजिक विकास, पूर्वाधार विकास, मानवीय विकासको अवस्थाबारे बुझेर नीति निर्माण गर्न सहयोग मिल्ने एमालेको विश्वास छ ।

अभियानको क्रममा ठाउँ-ठाउँमा जनसभाहरु हुने र ती सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने एमालेले जनाएको छ । अभियानको क्रममा पार्टीका सबै पदाधिकारी, स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरुका साथै जनसंगठनका नेताहरु पनि परिचालित हुने छन् ।

अभियान सम्पन्न भएपछि पुस ५ गते काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर अनुभव र निष्कर्ष सार्वजनिक गर्ने उपाध्यक्ष पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस