चितवनमा फिल्म मेकिङ वर्कशप सञ्चालन हुने

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०७५, १० : २२
चितवनमा फिल्म मेकिङ वर्कशप सञ्चालन हुने

चितवन । पछिल्लो समय चितवनलाई चलचित्र प्रदर्शनको हिसावले राजधानी पछिको ठुलो बजारको रुपमा लिइन्छ । चितवनमा हरेक महिना कुनै न कुनै चलचित्रको  छायांकन भैरहेको हुन्छ । चितवनमा पछिल्लो समय ठूलाठूला मल्टिप्लेक्स हल निर्माणसँगै चितवनलाई ठुलै चलचित्र बजारको रुपमा हेरिन्छ ।

चलचित्रसम्बन्धी अवार्ड र फिल्म फेस्टिबलले पनि काठमाडौँभन्दा बाहिरका शहरहरु रोज्न थालेका छन् र अधिकांश सिनेमाहरुले छायाङ्कनको लागि पनि काठमाडौँभन्दा बाहिरका शहर नै जाने गरेका छन् । तर, आजसम्म चलचित्रसम्बन्धी शैक्षिक कार्यक्रम, वर्कशप तथा कक्षा उपत्यकाभन्दा बाहिर जान सकेका थिएनन् तर अब भने चलचित्र निर्माणसम्बन्धी शिक्षा दिने, सिनेमा साक्षरता बढाउने र नयाँ जागरुक फिल्ममेकर तथा स्टोरी राइटरहरुलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यले चितवनको नारायणगढमा  एक–एक हप्ते फिल्म मेकिङ वर्कशप सञ्चालन हुँदैछ ।

काठमाण्डौँको मैतिदेवीस्थित कान्तिपुर फिल्म एकेडेमीको आयोजनामा हुन लागेको उक्त चलचित्र निर्माणसम्बन्धी वर्कशप नारायणघगढमा भदौ १७ गते देखि २२ गते सम्म सञ्चालन हुनेछ । काठमाण्डौं बाहिर यस्तो किसिमको तालिम सम्भवत पहिलो पटक सञ्चालन हुन थालेको एकेडेमीका अध्यक्ष छविराज ओझाले बताए । नारायणगढको पुलचोकमा रहेको होटल तिरुपतिमा वर्कशप सञ्चालन हुँदैछ ।

तालिमबाट प्राप्त ज्ञानले फिल्मी९सर्र्ट फिल्म, भ्यूजअल्, म्यूजिक भिडियो, वृत्तचित्र० क्षेत्रमा नयाँ आयाम समेत थप्ने कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले जानकारी गराए । यस्तो किसिमको तालिमले स्टोरी राइटिङ् र सिनेमेटोग्राफी सम्बन्धी जानकारी र अभ्यास गराउने छ ।

बिहानको १० बजेदेखि बेलुकी ५ बजेसम्म सैद्धान्तिक र व्यावहारिक तरिकाबाट वर्कशप सञ्चालन हुनेछ र चलचित्र निर्माणसम्बन्धी चासो भएको जो कोही पनि सहभागी हुन पाउनेछन् । काठमाण्डौ बाटै दक्ष प्रशिक्षक र अत्याधुनिक क्यामेरा एवम् सामग्रीहरु ल्याई सञ्चालन गरिने वर्कशपबाट मौफसलमा लुकेर रहेका प्रतिभा तथा कथाहरुलाई बाहिर ल्याउनमा प्रत्यक्ष सहयोग पुर्याउनेछ ।

प्रतिक्रिया दिनुहोस