विप्लवको पार्टीका नेता रुसी सेनामा भर्ना

सफल खबर संवाददाता

शुक्रबार, ०८ मंसिर २०८०, २० : २०
विप्लवको पार्टीका नेता रुसी सेनामा भर्ना

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध भएर सेक्रेटरी समेत भइसकेका एक व्यक्ति यतिबेला रुसी सेनामा भर्ना भएका छन् । माओवादी हुँदै पछिल्लो समय विप्लवको पार्टीमा आबद्ध डायमण्ड सी म्याग्देली भ्लादिमिर पुटिन राष्ट्रपति रहेको रुसी सेनामा भर्ना भएका हुन् । रुसी सेनामा नेपाली नागरिकको भर्ती गैरकानुनी भएपनि कैयन नेपालीहरु भर्ती भइसकेको बताइएकै बेला उनी समेत सेनामा भर्ती भएको पाइएको हो । आफू रुसी सेनामा भर्ती भएको डायमण्डले नै सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन् । चार दिन अघि सामाजिक सञ्जालमा ‘लेनिनको देशबाट रातो सलाम’ भन्दै उनले आफू रुसी सेनामा भर्ना भएको जानकारी गराएका छन् ।

‘लेनिनको देशमा पुगेर पुटिनको सिपाहीको रुपमा जिम्मेवारी सुरु गरेपश्चात विविध कारणले करिव १ महिना सामाजिक सञ्जालमा उपस्थिति जनाउन सकिएन’, उनले भनेका छन्, ‘यद्यपि सवैप्रतिको मिठो सम्झना यथावत् नै थियोे–छ । राईफल त हिजो दशवर्षे जनयुद्ध मा पनि बोकेकै हो र आज पनि बोकिएको छ तर उद्देश्य नितान्त भिन्न छ, अर्थात हिजो नेपाली जनताको मुक्तिको लागि र आज पराई भूमिको रक्षा एवम् आफ्नो पारिवारिक व्यवस्थापनको लागि ।’ पार्टी विभाजन पछि २०७१ मै विप्लव नेतृत्वको नेकपाको म्याग्दी जिल्ला सेक्रेटरी भएको उनले बताएका छन् । अहिले केन्द्रीय सदस्य नै बन्ने अवस्था रहेपनि विभिन्न वहानामा पार्टीको नाममा रकम जोरजाम गरी पारिवारिक व्यवस्थापन गर्दै आफू र पार्टीलाई समेत वदनाम गर्नुभन्दा वरु विदेश गई रगत–पसिना बगाएर परिवारको उचित व्यवस्थापनसँगै पार्टी तथा आन्दोलनलाई भिन्न ढंगले सहयोग एवम् समर्थन गर्नु नै वेहत्तर लागेको उनको भनाइ छ ।

‘अहिलेसम्म सीसीएम (केन्द्रीय सदस्य) बनिसकिन्थ्यो, त्यसैको सहारामा सानोतिनो व्यवसाय गरेर सामान्य पारिवारिक व्यवस्थापन गर्न त्यति मुश्किल थिएन’, उनले भनेका छन्, ‘तर निश्कलंकित रही निष्ठाको राजनीति गर्न खोज्ने, आफ्नो कारण आफू स्वयम् र पार्टीलाई कुनै दाग नलागोस् भन्ने पवित्र सोच राख्ने म जस्तो पात्रले दायाँबायाँ सोच्ने प्रश्नै रहेन । विभिन्न वहानामा पार्टीको नाममा रकम जोरजाम गरी पारिवारिक व्यवस्थापन गर्दै आफू र पार्टीलाई समेत वदनाम गर्नुभन्दा वरु विदेश गई रगत–पसिना बगाएर परिवारको उचित व्यवस्थापन संगै पार्टी तथा आन्दोलनलाई भिन्न ढंगले सहयोग एवम् समर्थन गर्नु नै वेहत्तर लाग्यो ।’ सोही बुझाइका साथ आफूले अर्को चुनौतीपूर्ण यात्रा सुरु गर्ने कठोर निर्णय गरेको उनले स्पष्टीकरण दिएका छन् ।

प्रतिक्रिया दिनुहोस