भारतले दिएको मुर्रा राँगा भन्सारमै रोकिए

सफल खबर संवाददाता

विहीबार, ०७ मंसिर २०८०, २० : ३९
भारतले दिएको मुर्रा राँगा भन्सारमै रोकिए

बाँके । भारतले दिएका मुर्रा राँगा नेपालगञ्ज भन्सारमा रोकिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका बेला उपहारमा दिएका १५ वटा मुर्रा जातका राँगा भन्सारमा रोकिएका हुन् ।

भन्सार छुटाउन बुझाउनु पर्ने राजस्वका कारण राँगा भन्सारमा रोकिएका हुन् । पशु सेवा विभागले नश्ल सुधारका लागि ल्याइएका राँगामा भन्सार नलाग्ने भनेर कागज दिएको थियो । तर, कृषि आय कर बुझाउनु पर्ने भएकाले राँगा भन्सारमा रोकिए ।

दुई सरकारी निकाय बिच कानुनी अड्चनका कारण समस्या देखिएको हो । नश्ल सुधारका लागि सरकारको आवश्यकता अनुसार ल्याइएका राँगामा कुनै कर नलाग्ने, तर भैँसी र भेडा जातिलाई ५ प्रतिशत आयकर तिर्नु पर्ने फरक फरक कानुनी प्रावधानका कारण समस्या आएको हो । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार अग्रिम आयकर बापत तिर्नुपर्ने करिब ८० हजार रुपैयाँ बुझाएर राँगा लैजाने तयारी भएको छ ।

राष्ट्रिय पशु प्रजनन कार्यालय लहानसँग भएको राँगा खरिद शीर्षकको बजेटबाट राजस्व बुझाएर राँगा छुटाउने प्रक्रिया अघि बढेको पशु क्‍वारेन्टाईन कार्यालय नेपालगन्ज बाँकेका प्रमुख ड. विनय कुमार कर्णले जानकारी दिए । राँगाको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भएकाले अर्को बजेटबाट व्यवस्था गर्ने गरी तत्कालका लागि राजस्व बुझाउन लागिएको हो । भन्सारबाट राँगा छुटाउने विषय कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अर्थ मन्त्रालय र बिहीबारको मन्त्रिपरिषद्को बैठकमा समेत पुगेको थियो ।

राँगालाई नेपालगन्जस्थित पशु क्वारेनटाइन चेकपोस्ट अन्तर्गतको होल्डिङ याडमा राखिएको छ । राँगालाई रातभर सशस्त्र प्रहरीले सुरक्षा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस