संयुक्त अभ्यासका लागि सैनिक टोली भारत हिँड्यो

सफल खबर संवाददाता

विहीबार, ०७ मंसिर २०८०, २० : ०९
संयुक्त अभ्यासका लागि सैनिक टोली भारत हिँड्यो

काठमाडौँ । भारतको पिथौरागढमा भोलि (शुक्रवार) शुरु हुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली त्यसतर्फ प्रस्थान गरेको छ। नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास  ‘सूर्यकिरण’को १७औँ संस्करणमा सहभागी हुन नेपाली सेनाका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३३४ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको हो।

उत्तराखण्ड राज्यको पिथौरागढमा हुने अभ्यासमा सहभागी हुन सैनिक टोली हिजो (बुधवार) भारततर्फ लागेको सेनाको जनसम्पर्क तथा तथा सूचना निर्देशनालयले जनाएको हो। दुवै देशका सेनाका गण (बटालियन) स्तरीय फौजले यही मंसिर २१ गतेसम्म हुने उक्त संयुक्त अभ्यास ‘सूर्य किरण’ भाग लिने छन्।

संयुक्त अभ्यासमा सहभागी सैनिकले विपद् व्यवस्थापन, प्रतिव्रिदोह तथा प्रतिआतङ्कवादलगायत जङ्गल युद्धकलासम्बन्धी व्यावहारिक अभ्यास गर्ने छन्। तालिम खासगरि प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद, प्रभावकारी आपसी सैन्य सञ्चार अभिवृद्धि र विपद् व्यवस्थापनमा केन्द्रित रहने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

विसं २०६७ सालबाट वर्षेनि नेपाल र भारतमा आलोपालो आयोजना हुँदै आएको संयुक्त अभ्यास ‘सूर्य किरण’ गत वर्ष पुस १ गतेदेखि पुस १४ गतेसम्म रुपन्देही जिल्लाको सालझण्डीमा नेपालले आयोजना गरेको थियो। 

‘सूर्य किरण’ले दुई देशबीच वर्षौं पुरानो पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउनुका साथै दुई देशका सेनाबीच आपसी समझदारी समेत बढाउने विश्वास नेपाली सेनाको छ।

प्रतिक्रिया दिनुहोस