प्रधानमन्त्री प्रचण्डसँग गृह प्रशासन सुधार गर्न गठित समितिको छलफल

सफल खबर संवाददाता

बुधबार, ०६ मंसिर २०८०, १३ : १७
प्रधानमन्त्री प्रचण्डसँग गृह प्रशासन सुधार गर्न गठित समितिको छलफल

काठमाडौं। गृह मन्त्रालय र अन्तर्गतका निकायहरूको कार्यसम्पादनमा प्रभावकारिता ल्याउन गर्नुपर्ने सुधारका उपाय पहिचान गर्न समिति गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ । बुधबार बिहान भएको भेटमा समितिसँगै उपसमिति सदस्य र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेत सहभागी थिए ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा गृह मन्त्रालयले सार्थक पहल लिएकोमा खुशी व्यक्त गरे । प्रशासन तथा सुरक्षा निकायको सुधारको आवश्यकता र प्राथमिकता किटेर सुझाव आउने अपेक्षा उनले गरे । सुझावले सिङ्गो सरकारलाई नै प्राथमिकता निर्माणमा सहयोग पुर्‍याउने प्रधानमन्त्री प्रचण्डको अपेक्षा छ ।

 

 

भेटवार्तामा गृह प्रशासनलाई सबल तथा सक्षम बनाउन, जनताको सुरक्षाको निश्चितता गर्न र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुधारका क्षेत्र तथा कार्ययोजनाबारे छलफल भएको थियो।

अध्ययन समितिका संयोजक तथा पूर्व मुख्यसचिव लीलामणि पौडेलले एउटा समस्या सुधारेर अर्को समस्यामा हात हाल्नेभन्दा पनि हरेक समस्याको सुधारमा उत्तिकै केन्द्रित हुनुपर्ने बताए । त्यसका लागि गृह मन्त्रालय र सबै मन्त्रालयले ध्यान दिनुपर्ने उनको भनाइ थियो । 

समिति र उपसमितिमा प्रशासन सुधारका पक्षमा योगदान दिएका व्यक्तित्वहरू संयोजक र सदस्य छन् । उनीहरूले तलब, भत्ता नलिएरै स्वयंसेकका रूपमा काम गर्ने बताए। 'अध्ययन वा सुझाव समितिप्रति मानिसमा गहिरो अविश्वास छ। तर हामी स्वयंसेवीका रूपमा खट्नेछौं र आफ्ना अनुभव र नयाँ प्राथमिकताबारे निष्कर्ष दिनेछौं,' संयोजक पौडेलले भने, 'हामीलाई जुन विश्वास गर्नुभएको छ, प्रतिवेदन कार्यान्वयन हुने अपेक्षासमेत गर्दछौं।'

गृहको समग्र प्रशासन, सेवा तथा सुरक्षा सुधार अध्ययनका लागि मुल समिति र नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन व्यवस्थापन, कारागार व्यवस्थापन तथा स्थानीय प्रशासन र सेवा प्रवाहसहित पाँच विषयगत उपसमितिहरू बनेका छन्।

प्रतिक्रिया दिनुहोस