भूकम्प पीडितका लागि अस्थायी टहरा बनाउन यस्ता छन् कांग्रेसका ६ निर्णय

सफल खबर संवाददाता

मंगलबार, ०५ मंसिर २०८०, १६ : ३१
भूकम्प पीडितका लागि अस्थायी टहरा बनाउन यस्ता छन् कांग्रेसका ६ निर्णय

काठमाडौं। नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिमको भूकम्पको लागि अस्थायी संरचना बनाउन श्रमदान गर्नेसम्बन्धी विभिन्न ६ वटा निर्णय गरेको छ ।महामन्त्री गगनकुमार थापाको सभापतित्वमा बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरू एवं भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको बैठकले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका पीडित परिवारलाई यथाशिघ्र अस्थायी घर टहरा निर्माण गर्न पार्टीको तर्फबाट श्रमदान गर्ने सम्बन्धी ६ वटा निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । 

एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरि १०/१० जनाको समूह बनाई पहिलो चरणमा १३ समूह सम्बन्धित क्षेत्रमा पठाउने निर्णय कांग्रेसको छ । यो समूह फर्किएपछि अर्को समूहलाई तुरुन्तै पठाउने तयारी कांग्रेसको छ ।प्रभावित क्षेत्रमा स्वास्थ्य र मानसिक स्वास्थ्य शिविर पनि सञ्चालन गर्ने कांग्रेसले जनाएको छ । 

 

यस्ता छन् कांग्रेसका निर्णय

१. भूकम्प प्रभावित क्षेत्रका अति जोखिममा रहेका  पीडित परिवारलाई यथाशिघ्र अस्थायी घर टहरा निर्माण गरी सहयोग पुर्‍याउने उद्देश्यले श्रमदान गर्न यथाशिघ्र एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरि १०/१० जनाको समूह बनाई पहिलो चरणमा १३ समूह सम्बन्धित क्षेत्रमा पठाउने । उक्त समूहहरूले एक हप्ता काम गरिसकेपछि क्रमिक रुपमा अर्को १३ वटा समूह सम्बन्धित क्षेत्रमा तुरुन्तै पठाई पहिलो समूहलाई प्रतिस्थापन गरिनेछ ।  

२. श्रमदानमा खटिएका जनशक्तिका साथमा सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन गर्न प्रजातन्त्रवादी चिकित्सक संघका चिकित्सकहरू परिचालन गर्ने ।

३. प्रभावित क्षेत्रमा पठन–पाठन सुचारु गर्न आवश्यक भौतिक तथा अन्य बन्दोबस्त मिलाउन नेपाल शिक्षक संघले सामूहिक रुपमा कार्य गर्ने ।

४. नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आफ्नै खर्चमा हाल चार वटा अस्थायी विद्यालय र चाँडै नै दुई वटा स्थायी पक्की विद्यालय भवन बनाउने ।

५. नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय कार्यसमितिले भूकम्प प्रभावित क्षेत्रका अति विपन्न तथा जीविकोपार्जनका माध्यम गुमाएका असहाय परिवार तथा श्रमिकको पुनर्स्थापना सम्बन्धी अध्ययन गरी आवश्यक साधन स्रोत उपलब्ध गराई सहयोग पुर्‍याउने ।

६. भूकम्प प्रभावित क्षेत्रका अस्थायी घर टहरा निर्माणमा श्रमदान गर्न जाने व्यक्ति र समूहले गर्ने काम कर्तव्य र कार्यक्षेत्र बारे बैठकमा आएका सुझावका आधारमा तयार गरिएको कार्यविधि पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस