विकसित देशले गर्दा जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको छ : मन्त्री महत

सफल खबर संवाददाता

मंगलबार, ०५ मंसिर २०८०, १३ : ३४
विकसित देशले गर्दा जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको छ : मन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती नरहेको बताएका छन् । मंगलवार काठमाडौँमा आयोजना भएको राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै अर्थमन्त्री डा. महतले कार्बन उत्सर्जन कम गर्न नेपालको ४५ प्रतिशत वन जङ्गल बनाएको विषयलाई विश्वले प्रशंसा गर्नुपर्ने बताएका हुन्।

महतले नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अक्सिजन धेरै उत्पादन गर्ने र कार्बन उत्सर्जन कम गर्नको लागि ४५ प्रतिशत भू–भाग जङ्गलका रूपमा स्थापित गरिरहेको जिकिर गरे । अर्थमन्त्री महतले कार्बन उत्सर्जन कम गर्न सवारीसाधनहरू समेत विद्युतीयमा परिमार्जन भइरहेको उल्लेख गरे । उनले सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्यमा विश्वले कुनै शङ्का नराख्न आग्रह गरे ।

उनले भने, ‘नेपालको ४५ प्रतिशत जमिनमा जङ्गल स्थापित गरिसकेका छौँ । सन् १९९० देखि ३० प्रतिशत रहेकोमा अहिले ४५ प्रतिशत पुर्‍याएका छौँ । नेपालले अक्सिजन धेरै उत्पादन गर्ने र कार्बन उत्सर्जन कम गर्ने काम गरिरहेका छौँ । यसलाई विश्वले प्रशंसा गर्नुपर्छ ।

अहिले नेपालको जलवायु सम्बन्धि चुनौती भनेको कार्बन उत्सर्जन शून्यमा बनाउन सक्छ की सक्दैन भन्ने होइन । त्यो नेपालले गर्दैछौ । त्यो नेपालले गर्छ । नेपालले एक्सनबाट नै बताइसकेका छौँ । कार्बन उत्सर्जन कम गर्न सवारीसाधनहरू समेत विद्युतीयमा परिमार्जन भइरहेका छन् । अहिले विद्युतीय सवारी साधनहरूको माग उच्च छ । त्यसैले नेपालले राखेको सन् २०४५ भित्र विशुद्ध शून्य उत्सर्जनमा पुग्ने लक्ष्य कुनै शङ्का छैन ।’

मन्त्री महतले नेपालले जलवायु परिवर्तनको कारण भोगिरहेको समस्या कार्बन उत्सर्जन शून्य बनाउँदैमा मुक्त नहुने भन्दै अन्य विकसित देशले पनि पूरा गर्न आवश्यक रहेको बताए । उनले विकसित देशले उत्सर्जन गरेको कार्बनको कारण भएको जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको उल्लेख गरे ।उनले भने, ‘नेपालले कार्बन उत्सर्जन शून्य बनाउँदैमा जलवायु परिवर्तनको प्रभाव नेपालले भोगिरहेको छ ।

त्यसमा नेपालले कार्बन उत्सर्जन शून्य बनाउँदैमा जलवायु परिवर्तनको प्रभावबाट नेपाल मुक्त हुन्छ ? हुँदैन । त्यसको लागि धेरै कार्बन उत्सर्जन गरी रहेका छन् । उनीहरूले त्यो पूरा गर्नुपर्छ । त्यो हामी पूरा गर्न सक्छौँ र गर्छौँ । अरू देशले पनि प्रतिबद्धता पूरा गर्नुपर्छ । विकसित देशले उत्सर्जन गरेको कार्बनबाट नेपालले भोगिरहेको छ । नेपालका हिमालहरूको हिउँ पग्लिएको नेपालले कार्बन उत्सर्जन गरेको कारणले नभएर अन्य देशको कारणले हो ।

विकसित मुलुकहरूले जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्नको लागि सहयोग चाहियो । नेपालका ठुला आयोजनाहरूको लागत कस्ट बढ्ने गरेको छ । त्यो बढेको कस्ट व्यहोर्ने कि न व्यहोर्ने ? नेपालमा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने डोनर एजेन्सीहरूबाट सहयोग लिएर नेपालमा रिपोर्ट मात्रै प्रस्तुत गर्ने भन्दा पनि अब यकिन कार्यक्रम ल्याउनपर्छ ।

जलवायु परिवर्तन न्यूनीकरणको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूले नेपालले जलवायु परिवर्तनको ठुलो असर भोगिरहेको छ नेपालको माग वास्तविक हो भन्ने कुरा कोपमा राखिदिनु पर्छ । सन् २०३० भित्र हाम्रा कुल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट परिपूर्तिको सुनिश्चितता गर्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस