चितवन । वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुई गैँडा मारेको घटना छानबिन गर्न बनाएको समितिले स्थलगत रूपमा काम थालेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा गठित पाँच सदस्य सम्मिलित टोलीले चितवन आएर स्थलगत रूपमा काम थालेको हो ।
उपमहानिर्देशक ढकालका अनुसार शनिबार घटनास्थलमा पुगेर सूक्ष्म रूपमा अध्ययन गरिएको छ । आज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलगायत सरोकारवालासँग छलफल गरिँदै छ ।
मध्यवर्तीको नियमित बैठक भएकाले त्यहीँ पुगेर छलफल गरिने उनले जानकारी दिए । यसका अतिरिक्त अरू सरोकारवाला निकायसँग छलफल अगाडि बढाइने उनको भनाइ छ । ढकालले भने, “हामी सूक्ष्म रूपमा अध्ययन र छलफल गरेर प्रतिवेदन तयार गर्छाैँ ।”
चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत समेत रहेका ढकाललाई यहाँको वस्तुस्थितिबारे धेरै ज्ञान छ । मन्त्रालयले सचिवस्तरीय निर्णयबाट १० दिनभित्र प्रतिवेदन बुझाउने गरी गएको शुक्रबार समिति बनाएको थियो ।
समितिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सेनानी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय निकुञ्ज विभागका कानुन अधिकृत र अनुसन्धान अधिकृत रहेका छन् ।
आवश्यक प्रमाण संकलन गरी भएका कमीकमजोरी र सुधार गर्नुपर्ने विषय समेत समावेश गरी प्रतिवेदन तयार गरिने उपमहानिर्देशक ढकालले बताए ।
राष्ट्रिय निकुञ्जमा दुई दुर्लभ एकसिंगे गैँडा तस्करले धरापमा पारेर मारेपछि छानबिन गर्न समिति बनाइएको हो । गएको बिहीबार गैँडा मृतावस्थामा भेटिएको थियो । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको बडेला खोलानजिकै ६ र १८ वर्षका पोथी गैँडा मरेको अन्दाजी तीन र १० दिनमा भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०४ मंसिर २०८०, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
गैँडाले आक्रमण गर्दा एकजना घाइते
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो
आठ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २० गैँडा मरे
गैँडाको आक्रमणपछि बेपत्ता महिलाको शव भेटियो
चितवनमा गैँडाको आक्रमण बढ्दो : दुई महिनामा ६ जनाले गुमाए ज्यान