भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन

सफल खबर संवाददाता

शनिबार, ०२ मंसिर २०८०, २१ : १९
भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन

काठमाडौँ । प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिएको छ। आज लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको संयुक्त आयोजनामा बलिउडका लोकप्रिय गीतकार समिरलाई ‘समीर अभिनन्दन समारोह’ मार्फत अभिनन्दन गरिएको हो। विश्वमा सबैभन्दा बढी गीत लेखेवापत ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाएका समीरले ६ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेका छन्।

सो समारोहमा गीतकार समीरले प्रकृतिको अनुपम सुन्दर देश, पशुपतिनाथको यस भूमिमा आएर सम्मानित हुन पाउँदा आफू निकै प्रफुल्लित भएको बताए। हिमाल र पहाडबीचबाट काठमाडौँ उत्रिने क्रममा एउटा गीत फुरेको अनुभूति सुनाउँदै नेपालबाट आफूले धेरै सिकेर जाने बताए। काठमाडौँ उत्रनु अगाडि हिमालको सुन्दर दृश्य हेर्दै एउटा गीत रचना गरिसकेको बताउँदै गीतकार समीरले सो गीतलाई नेपालमा अत्यधिक मन पराउने र नेपालका लागि धेरै लेख्ने वाचा पनि गरे। उनी व्यवसायी वसन्त चौधरीको निमन्त्रणामा पहिलो पटक नेपाल आएका हुन्।

अहिलेसम्म आफूले धेरै सम्मान पाएको तर जसले गीतकारको पीडा दुःख बुझेको छ, उसकै सम्मान पाउँदा खुसी महसुस गरेको भन्दै उनले  गीतकार सङ्घ नेपाललाई धन्यवाद दिए। सो अवसरमा गीतकार तथा साहित्यकार वसन्त चौधरीले समीर अन्जानको नाम साङ्गीतिक क्षेत्रमा निकै चर्चित रहेको बताए। हिन्दी चलचित्र र  गीत मन पराउने सबैले उनलाई मन पराउने उनको भनाइ थियो।

गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त बित्यासी थापाले सङ्घले विभिन्न समयमा गीतकारको सम्मान गर्दै आएको भन्दै यसपटक समीर अन्जानलाई अभिनन्दन गर्ने अवसर प्राप्त भएको र सो अवसरका लागी लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरलाई धन्यवाद दिए। गीतकार समिरका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’लगायतका गीत लोकप्रिय छन्।

प्रतिक्रिया दिनुहोस