चीनले विश्वकै सर्वाधिक द्रुत गतिमा चल्ने इन्टरनेट बनाएको दाबी

सफल खबर संवाददाता

विहीबार, ३० कार्तिक २०८०, १३ : ५५
चीनले विश्वकै सर्वाधिक द्रुत गतिमा चल्ने इन्टरनेट बनाएको दाबी

बेइजिङ । चीनले उन्नत खाले इन्टरनेट नेटवर्क सुरु गरेको छ । यो संसारकै सर्वाधिक द्रुत गतिमा चल्ने इन्टरनेट भएको दाबी चीनको छ । चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेको यो इन्टरनेटको गति प्रति सेकेन्ड १.२ टिबी (१ हजार २ सय जिबी) हुन्छ ।

यो एक सेकेन्डमै १५० ओटा फिल्मको डेटा ट्रान्सफर गर्न पर्याप्त भएको बताइएको छ ।तर इन्टरनेटको यो गति सैद्धान्तिक हो । उपभोक्ताको घरसम्म पुग्दा नेट यही गति भने पक्कै पनि चल्दैन । तर अहिले चलाइरहेको इन्टरनेट भन्दा चाहिँ यो निकै धेरै हो।

यतिको तीव्रता अनि छिटो गतिको इन्टरनेट सेवा उपलब्ध हुनु व्यवसाय, शेयर कारोबार र राष्ट्रिय सुरक्षा समेतका मामिलामा ठुलो अर्थ राख्ने विश्लेषण गर्न लागिएको छ ।यही हप्ता एउटा पत्रकार सम्मेलनमा हुवावे र चाइना मोबाइलले आधिकारिक रूपमा त्यहाँको पाँचौँ पुस्ताको ब्याकबोन नेटवर्क लन्च गरेका थिए ।

 

ब्याकबोन नेटवर्क फरक खाले भौगोलिक अवस्थितिमा समेत इन्टरनेटको ट्राफिक चल्न सक्ने नेटवर्क पूर्वाधार हो । यसले ५ जी र विद्युतीय सवारी साधन जस्ता धेरै डेटा खपतलाई पनि सपोर्ट गर्छ । अहिले यो सेवा सीमित स्थानमा मात्रै उपलब्ध छ ।

कम्पनीले देशभर सेवा विस्तारबारे केही पनि बताएको छैन । हुवावेले तीव्र गतिको इन्टरनेटको परीक्षण यही गर्मीयाम देखि सुरु गरेको थियो । तर सर्वसाधारणमा सेवा प्रवाह भने विज्ञहरूले अपेक्षा गरेको भन्दा २ वर्ष अगाडि नै भएको छ । यसलाई केही विज्ञहरूले विश्वको सबैभन्दा उन्नत इन्टरनेट नेटवर्क बताइरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस