एउटै फार्मबाट तीन करोडको केरा बिक्री

सफल खबर संवाददाता

बुधबार, २९ कार्तिक २०८०, ०८ : ४०
एउटै फार्मबाट तीन करोडको केरा बिक्री

झापा । विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि पाँच करोडको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ ।

भद्रपुर नगरपालिका–५ मा २० बिघा र गौरादह–५ मा ५७ बिघा जग्गा भाडामा लिएर वासुदेव उप्रेती, कमल थापा, प्रेम खड्का, प्रकाश निरौला र दारोगा जैसवालले ‘श्रीगणपति एग्रिकल्चर प्रालि’मार्फत केराखेती गरेका हुन् । दुवै ठाउँमा रोपिएका केराका बोट लहलह भएर फस्टाएका छन् ।

भद्रपुरको खेतबाट एउटा यामको उत्पादन चाडबाडकै अवसरमा बजारमा पुगिसकेको छ भने गौरादहको उत्पादन चाँडै बजार लैजाने तयारी भइरहेको कम्पनीका अध्यक्ष वासुदेव उप्रेतीले जानकारी दिए । उनका अनुसार भद्रपुरको केराखेतीमा दसैँ र तिहारको समयमा २८ हजार घरी केरा पाकेको थियो । ती सबै काठमाडौं, वीरगञ्ज, चितवन र पोखराको बजारमा बिक्री भइसकेको छ । बजारमा प्रतिघरी केरा औसत रु एक हजार दुई सयमा बिक्री भएको छ । फार्ममा फलेका सबै केरा कम्पनी आफैँले बजारमा पुर्याएर बिक्री गरेको हो ।

भद्रपुरको फार्मबाट मात्र तीन करोड ३६ लाखको पाकेको केरा बिक्री भएको अध्यक्ष उप्रेतीको भनाइ छ । ‘उत्पादन सुरु भएको पहिलो वर्षमै भद्रपुरको खेती नाफामा गयो’, खेतीबाट उत्साहित अध्यक्ष उप्रेती भने, ‘अर्को यामदेखि अझ धेरै नाफा पाउने आशा जागेको छ । पहिलो यामको केरा बजारीकरण गर्न समस्या भयो । आउँदो याममा बढीभन्दा बढी फाइदा लिने कम्पनीको योजना छ ।’

भद्रपुर–५ मा रहेको केराफार्मको जग्गा जिल्लाकै पुरानो भद्रपुर गौशालाको स्वामित्वमा छ । उक्त जग्गा वार्षिक पाँच लाख भाडा तिर्ने सम्झौतामा लिइएको हो भने गौरादहमा धेरै व्यक्तिको निजी जग्गा एकमुष्टरूपमा वार्षिक १० लाख भाडा तिर्ने शर्तमा कम्पनीले लिएको हो । अध्यक्ष उप्रेतीका अनुसार भद्रपुरको फार्ममा ३० हजार र गौरादहमा ८० हजार केराका बोट हुर्किएका छन् । ‘जी नाइन’ नामक उन्नत जातको केराको बिरुवा टिस्युकल्चर प्रविधिबाट नर्सरीमा उमारिएका हुन् । प्रतिबिरुवा ३५ मा खरिद गरिएको उनले बताए ।

वीरगञ्ज, खुदुनाबारी र गौरीगञ्जमा टिस्युकल्चर प्रविधिबाट केराको बिरुवा उमार्ने नर्सरी रहेका छन् । कम्पनीले तिनै नर्सरीबाट बिरुवा किनेको हो । एकपटक हुर्काएको बिरुवाले पाँच वर्षसम्म नयाँ बिरुवा उमारेर निरन्तर उत्पादन दिइरहन्छ । गौरादहको फार्ममा हाल केरा पाक्न थालेका छन् । उन्नत जातको यो केरा नौ महिनामा पसाउन थाल्छ भने एक वर्षभित्रै पाक्छ ।

ठूला घरी र पोटिला कोसा धेरै हुने भएकाले यसले सजिलै बजार पाउने गरेको अर्का सञ्चालक कमल थापाको भनाइ छ । केराखेतीमा लागेका युवामध्ये जैसवाल बिर्तामोडको कृषि थोक बजारका ४० वर्षदेखिका अनुभवी व्यापारी हुनुहुन्छ । उनलाई बजारीकरणको राम्रो ज्ञान छ । पहिलो खेती भएकाले कतिपय कठिनाइ भने झेल्नु परिरहेको थापाले बताए ।

ठूलो लगानीमा केराखेती गरे पनि श्रीगणपति एग्रिकल्चर प्रालिले हालसम्म सरकारी अनुदान र प्रोत्साहन पाउन सकेको छैन । ‘कुलिङ च्याम्बर नहुँदा पहिलो याममा पाकेको केरा बजारमा बिक्री भइनसक्दै बिग्रिएर नष्ट हुने समस्या झेल्नुपर्यो’, थापाले खेतीको अनुभव सुनाउँदै भने– ‘पाकिसकेका केराका घरीलाई टिकाउन कुलिङ च्याम्बर चाहिएको छ ।’

झापाको उत्पादनलाई काठमाडौंको बजारसम्म पुर्याउन तीन दिनसम्म लाग्ने र ढुवानीमा प्रतिगाडी रु ५० हजारसम्म भाडा लाग्ने भएकाले ढुवानीको गाडी पनि आवश्यक परेको अर्का सञ्चालक प्रकाश निरौला बताए । सरकारले लागत सहभागितामा कुलिङ च्याम्बर र ढुवानीको गाडी खरिदमा अनुदान दिए व्यवसायमा मद्दत पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस