नेपालको जलविद्युत र पर्यटनमा लगानी सहयोग गर्न एबीएसँग गभर्नरको आग्रह

सफल खबर संवाददाता

विहीबार, २३ कार्तिक २०८०, १३ : ०३
नेपालको जलविद्युत र पर्यटनमा लगानी सहयोग गर्न एबीएसँग गभर्नरको आग्रह

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले नेपालको पर्यटन पूर्वाधार, हाइड्रोपावर लगायत यातायातको क्षेत्रमा लगानी सहयोग गर्न एसियन बैंकर्स सङ्घ (एबीए) सँग आग्रह गरेका छन् । 

नेपाल बैंकर्स सङ्घ (एनबीए) को सहकार्यमा पहिलोपटक नेपालमा एसिया बैंकर्स कन्फेरेन्सको आयोजना भएको छ । उक्त कन्फेरेन्समा विश्वका २४ मुलुकका ६३ प्रतिनिधिहरु सहभागी छन् । 

विश्व बैंक (वल्र्ड बैंक), एसियाली विकास बैंक (एडीबी), अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) समेतको सहभागितामा एसियाली बैंकहरुको प्रतिनिधिको सम्मेलनमा गभर्नर अधिकारीले नेपाल आर्थिक संवृद्धिको यात्रामा अघि बढिरहेको र यसका लागि अन्तर्राष्ट्रिय साझेदारहरूको समेत साथ र सहयोगको अपेक्षा गरिएको उनले बताए ।

'नेपालको अर्थतन्त्र सकारात्मक पथमा छ । लगभग ८ प्रतिशत आर्थिक वृद्धिमा पुगिसकेको नेपालको अर्थतन्त्र कोभिड–१९ का कारण केही प्रभावित हुन पुग्यो । तथापि, यहाँको पर्याप्त लगानीको सम्भावनाले, तीव्र प्रतिफलको सम्भावनाले छिटो विकास गर्न सकिने सम्भावना छ' गभर्नर अधिकारीले भने,'ुनेपालको जलविद्युत क्षेत्र प्रचुर लगानी र प्रतिफल प्राप्त गर्न सकिने क्षेत्र हो । यसैगरी पर्यटन लगायत साना तथा मझौला उद्योगका क्षेत्रमा समेत लगानी बढाउन सकिए, नेपालको तीव्र विकास र आर्थिक संवृद्धि टाढा छैन । यसका लागि म अन्तर्राष्ट्रिय साझेदार सङ्घ संस्था र साझेदार विश्व वित्तीय संस्थाहरूलाई विशेष आग्रह गर्दछु' उनले भने ।

सोही समारोहमा गभर्नर अधिकारीले नेपालको ट्रान्सपोटेसन (सार्वजनिक यातायातको क्षेत्र) समेत लगानीका लागि उच्च सम्भावना भएको क्षेत्र  बताउँदै गभर्नर अधिकारीले यसमा समेत सोच्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस