भेरी अस्पतालमा उपचाररत जाजरकोट भूकम्पका घाइते घर फर्किन थाले​

सफल खबर संवाददाता

बुधबार, २२ कार्तिक २०८०, १६ : १५
भेरी अस्पतालमा उपचाररत जाजरकोट भूकम्पका घाइते घर फर्किन थाले​

काठमाडौं। भूकम्पमा परी घाइते भएर भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका केही बिरामी निको भएर घर जान थालेका छन् ।जाजरकोटका तीन जना डिस्चार्ज भएका जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उपचाररत एक जनाको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि शिक्षण अस्पताल काठमाडौं पठाउने तयारी भइरहेको छ । निको भएर घर फर्केका बिरामी तथा कुरुवालाई यातायातको प्रबन्ध गरिएको जानकारी दिए ।आपतकालीन कार्यसञ्चालन केन्द्रले उनीहरूलाई चामल २५ केजी, दाल पाँच केजी, तेल दुई लिटर, कम्बल सेट एक र त्रिपाल एक थान प्रदान गरेको छ ।

 

 

जाजरकोट, रुुकमपश्चिम र सल्यानका ४९ घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको छ ।अस्पतालमा उपचार गराइरहेका अधिकांश बिरामीको हाडर्जोर्नीसम्बन्धी समस्या देखिएकाले उपचारका लागि विशेषज्ञ चिकित्सकलाई परिचालन गरिएको केन्द्रले जनाएको छ । ​

अर्थोपेडिक सर्जन डा प्रकाश थापा, डा लक्ष्मण सिग्देललगायत चिकित्सकले घाइतेहरूको उपचार गरिरहेका फोकल पर्सन श्रेष्ठले जानकारी दिए । उनका अनुसार अधिकांश बिरामीको हाडर्जोर्नी भाँचिएको, चर्किएको तथा टुटेको छ । अहिलेसम्म भूकम्पमा परी घाइते भएका १० जनाको सफल शल्यक्रिया भएको छ । 

अस्पतालको सघन उपचार कक्ष तथा उपचार कक्ष बाहिर बिहान, दिउँसो र राति दुई/दुई जना स्वयंसेवक रहने गरी सहायता तथा सहजीकरण कक्ष सञ्चालन गरिएको फोकल पर्सन श्रेष्ठले बताए ।गत शुक्रवार जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस