आठबीसकोटका मृतकका परिवारले पाए राहत

सफल खबर संवाददाता

मंगलबार, २१ कार्तिक २०८०, १६ : ३७
आठबीसकोटका मृतकका परिवारले पाए राहत

त्रिवेणी । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका सबै मृतक परिवारका आफन्तलाई राहतसँगै किरिया खर्च दिइएको छ । आइतबार र सोमबार गरेर नगरपालिकाका २८ घरका मृतक परिवारलाई किरिया खर्चसँगै राहत सामग्री दिइएको हो ।

गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युटको  भूकम्प गएको थियो । सोही भूकम्पमा परेर वडा नं ९, १०, ११, १२, १३, र १४ का २८ घरपरिवारले आफन्त गुमाउनु परेको थियो ।

आफन्त गुमाएका सबै परिवारलाई दुई दिन लगाएर राहतसँगै किरिया खर्च दिइएको छ । प्रत्येक मृतक परिवालाई रु २५ हजारका दरले किरिया खर्च दिएको आठबीसकोट नगर उपप्रमुख  धनकुमारी शाहीले जानकारी दिइन् ।

उनका अनुसार घरबारविहीन भएका परिवारलाई पनि आवश्यक पर्ने खाद्यान्नलगायत अन्य सामग्रीको पाकेज बनाएर राहत सामग्री वितरण गर्ने काम जारी छ । नगरपालिकामा उपलब्ध भएको खाद्यान्नलगायत अन्य राहत पीडितका क्षेत्रमा लगेर वितरण गरिरहेको उपप्रमख शाहीले जानकारी दिइन् ।भूकम्पका कारण आठबीसकोटमा ४२ र जाजरकोटमा दुईजना गरेर ४४ जनाको मृत्यु भएकामा चारजना भने जिल्लाबाहिरका रहेको नगरपलिका जिन्सी शाखाप्रमुख टेकबहादुर चन्दले जानकारी दिए ।

त्यस्तै सानीभेरी गाउँपालिकामा पनि भूकम्पमा परी मृत्यु भएका घरपरिवारलाई गाउँपालिकाले राहतसँगै रु २५ हजार किरिया खर्च उपलब्ध गराएको गाउँपालिकाका प्रवक्ता पहलसिङ घर्तीले बताए । यहाँ १२ जनाको मृत्यु भएको थियो । गत शुक्रबार आएको भूकम्पले जाजरकोटसहित रुकुम पश्चिममा मानवीय क्षतीसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस