काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा जिम्मेवार सरकार कस्तो हुन्छ भन्ने अनुभूति हुनेगरी भूकम्प प्रभावितहरूलाई आवश्यक अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।
जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको विनाशकारी भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझन मंगलबार जाजरकोट पुगेका राष्ट्रपति पौडेलले त्यहाँका जनप्रतिनिधि, सर्वसाधारण र भूकम्प प्रभावितहरूसँगको छलफलमा अहिले नै सबै कुरा सोचबिचार गरेर काम गर्न ध्यान दिनुपर्ने बताए ।
स्थायी घर नबन्दासम्मका लागि जाडो र वर्षायाममा समस्या नहुने गरी बसोबासको अस्थायी प्रवन्ध तथा दीर्घकालीन रुपमा कुनै उपयुक्त ठाउँको पहिचान गरी स्थायी घर निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
अहिलेको कठिन अवस्थामा भूकम्प प्रभावितलाई ठग्ने र झुक्याउनेजस्ता गलत काम हुन सक्ने हुँदा त्यसबाट सचेत र सर्तक रहन पनि राष्ट्रपति पौडेलले आग्रह गरे । ‘तपाईंहरूको समस्या समाधानका लागि म सँगै छु, चिन्ता नगर्नुस्,’ राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।
यसअघि राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका थिए । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए । उनले भुकम्प प्रभावितहरूलाई आवश्यक बासोबास, खाद्यान्नलगायत सबै कुराको प्रवन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।
राष्ट्रपतिको भनाइ उद्धृत गर्दै सल्लाहकार पोखरेलले भने, ‘तपाईंहरूका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्न पर्दैन । म सरकारसँग कुरा गर्छु ।’
सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिका बारेमा जानकारी गराए । त्यस्तै घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराएका थिए ।
भूकम्पबाट प्रभावित नागरिकहरूको अवस्था बुझ्न राष्ट्रपति पौडेल सुर्खेतबाट जाजरकोट पुगेका हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठविसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्दारको अवस्थाका बारेमा जानकारी लिँदैछन् । भूकम्पपछिको अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ कार्तिक २०८०, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वतन्त्र र निष्पक्ष पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न सकिन्न : राष्ट्रपति
चिकित्सकहरू बिदेसिने क्रम बढ्नु चिन्ताको विषय : राष्ट्रपति पौडेल
रेल तथा जल यातायात सञ्चालन गरी ढुवानी लागत घटाइने
पूर्खाको मेहनत र परिश्रमको चिनो सम्पदाको संरक्षण हाम्रो साझा दायित्व : राष्ट्रपति पौडेल
कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
राष्ट्रपतिद्वारा गैरआवासीय राजदूत नियुक्त