यसकारण खलबलिँदै छ भूकम्पको शक्ति

पत्रपत्रिकाबाट

आइतबार, १९ कार्तिक २०८०, ०७ : २०
यसकारण खलबलिँदै छ भूकम्पको शक्ति

काठमाडौ । नेपालको पश्चिमी भागमा निरन्तर जसो गइरहेका मझौला तथा ठुला भूकम्पले देशका अन्य भूभागमा सञ्चित भूकम्पको शक्तिलाई खलबल्याउन थालेको छ ।

सङ्घीय राजधानी काठमाडौँ आसपास र पूर्वको पहाडमुनि सञ्चित शक्तिलाई खलबल्याउँदै गएको दाबी भूगर्भविद्हरूको छ । यो पुरानो र नयाँ शक्ति हो ।

उनीहरूका अनुसार शक्ति सञ्चित हुनुमा केही कारण छन्। गोरखा केन्द्रबिन्दु भएर २०७२ सालमा गएको ७.८ म्याग्निच्युडको भूकम्पपछि केही वर्ष परकम्पमा बिते । त्यसले अर्को महाभूकम्पको शक्ति काठमाडौँको जमिनमुनि थुपारिदिएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार तीन वर्षयता पश्चिम नेपालका विभिन्न भूकम्पको निरन्तरको धक्का बढ्न थालेको हो । गत असोज १६ गते बझाङमा एकै दिन गएका ६.३ र ५.३ म्याग्निच्युडको भूकम्पपछि लगातारजसो नै त्यो क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । जसको कम्पन काठमाडौँसम्म राम्रै महसुस गरिएको थियो ।

त्यसअघि वैशाखमा बाजुरामा यही आसपासको भूकम्प गएको थियो । केन्द्रका अनुसार लामो समयदेखि सञ्चित आठ म्याग्निच्युडमाथिको महाभूकम्पको शक्ति पश्चिम नेपालको जमिनमुनि सञ्चित छ । त्यो बाहिरिन आठ म्याग्निच्युड बराबरको भूकम्प एकैचोटि जानु पर्छ ।

पछिल्लो समय गइरहेका साढे छ म्याग्निच्युड बराबरका भूकम्पले महाभूकम्पको शक्तिको एक छेउ पनि बाहिर निस्कँदैन किनभने आठ म्याग्निच्युडको भूकम्पको शक्ति सञ्चित छ भने सात रेक्टरका ३२ वटा भूकम्प जानु पर्छ । त्यस्तै छ म्याग्निच्युडको जाने हो भने एक हजार २४ वटा भूकम्प गएमा बल्ल एउटा आठ म्याग्निच्युडको महाभूकम्पको शक्ति बाहिरिन्छ । 

अझ कम पाँच म्याग्निच्युडको भूकम्पमार्फत त्यो सकिने हो भने ३२ हजार वटा भूकम्प आउनु पर्छ । जति कम म्याग्निच्युडको भूकम्प जान्छ, त्यति गुणा धेरै भूकम्पको सङ्ख्या बढेर जानु पर्छ तर ती भूकम्प परकम्पका रूपमा नभई भूकम्पकै रूपमा जानुपर्ने हुन्छ । 

नेपालको पश्चिमी भूगर्भमा पाँच सय वर्षदेखि त्यो शक्ति जमिनमुनि बसिरहेकाले पनि खतरा बढेको छ । अहिलेका भूकम्पले दरार पैदा नगराएको र शक्ति नबाहिरिएका कारण अबको केही दिनभित्र नै पश्चिम नेपालमा अर्को मध्यम खालको भूकम्प जाने सम्भावना रहेको वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारी बताउँछन्, गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस