राष्ट्रसंघका महासचिव गुटरेस र प्रधानमन्त्री प्रचण्ड लुम्बिनी आउँदै

सफल खबर संवाददाता

सोमबार, १३ कार्तिक २०८०, १३ : ०५
राष्ट्रसंघका महासचिव गुटरेस र प्रधानमन्त्री प्रचण्ड लुम्बिनी आउँदै

बुटवल । संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटरेस मंगलबार लुम्बिनी आउँदै छन् । गुटरेससहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि लुम्बिनी आउने कार्यतालिका छ। महासचिव गुटरेस प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा आइतबार नेपाल भ्रमणमा आएका थिए । 

 

लुम्बिनी विकास कोषले महासचिव गुटरेसको भ्रमणको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले महासचिवको भ्रमणको सबै तयारी पूरा भएको बताए ।

 

महासचिवको भ्रमणले बुद्ध र लुम्बिनीको विश्वव्यापी प्रचारको अवसर हुने र आगामी दिनमा लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघको योगदानको खोजी गर्न सकिने उनले बताए । ‘महासचिव आउनु नै हाम्रो लागि गौरवको विषय हो, गुटरेसको भ्रमणले विश्वव्यापी रूपमा बुद्ध र लुम्बिनीको प्रचार हुन्छ,’ उनले भने । 

 

 

महासचिवलाई बुद्ध जन्मस्थलमा भव्यताका साथ स्वागत गर्दै विश्वशान्तिको सन्देश दिने सक्ने गरी तयारी गरेको उपाध्यक्ष डा. लामाले बताए ।गुटरेसको लुम्बिनी भ्रमणले लुम्बिनीको विश्वव्यापी प्रचारका साथै लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्र संघसँगको सहकार्य थप मजबुद हुने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले बताए । नेपालले संयुक्त राष्ट्र संघको पहलमा शुरू भएको लुम्बिनी अन्तर्राष्ट्रिय सहयोग समितिमा संलग्न राष्ट्रहरूको बैठक वा सम्मेलनको आयोजनाका लागि समेत पुन: स्मरण गराइने बताए । 

कोषले परराष्ट्र मन्त्रालयले पठाएको कार्यतालिका अनुसार मंगलबार महासचिव गुटरेसको भ्रमणलाई ऐतिहासिक बनाउने गरी तयारी भइरहेको सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । 

उनका अनुसार महासचिव गुटरेसलाई लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, मुख्यमन्त्री डिल्ली चौधरी, उपाध्यक्ष डा. ल्हारक्याल लामासहित सरकारी उच्चस्तरी अधिकारीहरूले स्वागत गर्नेछन् ।महासचिव गुटरेस मंगलबार बिहान ८:३५ मा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने र त्यहाँबाट हेलिकप्टरमा बिहान ८:५० बजे लुम्बिनीमा आइपुग्नेछन् । 

गुटरेसलाई हेलिप्याडबाट चार नम्बर गेट हुँदै शान्तिदीपमा लगिनेछ । कोषका अनुसार गुटरेसलाई लुम्बिनीमा रहेका बिहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारुलगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरूले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन् । 

गुटरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि पिपलको रुखमुनी छोटोमा स्वागत गर्ने कार्यक्रम राखिएको छ । लुम्बिनीमा डेढ घन्टा बिताएपछि १०:३० बजे काठमाडौं फर्कने गरी कार्यक्रम तालिका बनेको छ ।

महासचिव गुटरेसले लुम्बिनीमा सालको रुख वृक्षारोपण गर्नेछन् । नेपाली सेनाले सुरक्षाको प्रबन्ध गरेको छ । महासचिवको भ्रमणलाई लिएर कोषले सरसफाई, स्वागत सत्कार जस्ता आवश्यक सम्पूर्ण तयारी पूरा गरेको योजना प्रमुख सरोज भट्टराईले बताए । उनले प्रधानमन्त्रीसँगै महासचिवको भ्रमण हुने भएकाले यसको विशेष महत्व रहेको बताए । 

 

कोषका तर्फबाट गुटरेसलाई मायाको चिनो र अतिथि पुस्तकमा हस्ताक्षरपछि मिडियासँग महासचिव गुटरेसले बिफ्रिङ गर्ने कार्यक्रम तय गरिएको कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए । गुटेरेसको भ्रमण हुने भएपछि लुम्बिनीको चार नम्बर गेटबाट शान्तिदीप जाने बाटो कालोपत्रे गरिएको छ । 

लुम्बिनीभित्र सरसफाइ गरेर चिटिक्क पारिएको छ । भ्रमणलाई लिएर सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुरक्षा समितिको बैठक बसेर आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताए ।

संयुक्त राष्ट्र संघका महासचिवको रूपमा गुरेसको लुम्बिनी भ्रमण छैटौं हो । सन् १९५५ ड्याग ह्यामसोल्ड महासचिव भएको बेला नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो । ड्यागले सन् १९५९ मा लुम्बिनी भ्रमण गरेको कोषले जनाएको छ । यद्यपि महासचिवका रूपमा भने भ्रमण भएको थिएन । तर, पनि उनीसहित गुटरेससम्म आइपुग्दा ६ जना महासचिवले बुद्ध जन्मस्थल लुम्बिनीमा पाइला टेक्नेछन् । 

संयुक्त राष्ट्रसंघका महासचिवहरू ड्याग ह्यामसोल्डले सन् १९५९ मार्चमा, ऊ थान्तले सन् १९६७ अप्रिलमा, कर्ट वाल्डहिमले सन् १९८१ फेब्रुअरीमा, ह्याभियर पेरिज द कोयरले सन् १९८९ मार्चमा र सन् २००८ नोभेम्बरमा बान की मुनले लुम्बिनीको भ्रमण गरेका थिए। 

संयुक्त राष्ट्रसंघका महासचिवका रूपमा ऊ थान्तको लुम्बिनी भ्रमणलाई सबैभन्दा महत्त्वपूर्ण रूपमा लिइन्छ। संयुक्त राष्ट्रसंघका महासचिवका रूपमा ऊ थान्तको लुम्बिनी भ्रमणपछि नै लुम्बिनीको विश्वव्यापी प्रचार भएको थियो ।

प्रतिक्रिया दिनुहोस