मेची-महाकाली उद्धार यात्रा- दसैँभर १२२ सडक आश्रित मानवको उद्धार

सफल खबर संवाददाता

शनिबार, ११ कार्तिक २०८०, १४ : ०५
मेची-महाकाली उद्धार यात्रा- दसैँभर १२२ सडक आश्रित मानवको उद्धार

रूपन्देही । ‘यस वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकमा’ भन्ने मूल नारासहित पूर्व मेची पूलबाट सुरू अभियान अन्तर्गत दसैँभर १२२ जना सडक आश्रित मानवको उद्धार गरिएको छ ।

मानव सेवा आश्रम र आनी छोयिङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा असोज २७ गतेदेखि सुरू भएको ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा-२०८०’ शनिबार बिहान बुटवल आइपुगेको हो ।

अभियान अन्तर्गत बुटवलबाट ३ जनाको उद्धार गरिएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । पूर्वको मेची पुलबाट एक बालकसहित ३ जनाको उद्धार गरी सुरु भएको अभियान महाकालीमा पुगेर समापन गरिने उनले बताए ।

चर्चित गायिका आनिछोइङ डोल्मासँगै मानव सेवा आश्रमका सदस्यहरुसहित अभियानमा रहेका टोलीमा सडकमा बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, मानसिक तथा सामाजिक रूपमा कमजोर सडकआश्रित मानवलाई उद्धार गर्दै आएको छ ।

अभियानकर्तालाई बुटवलमा स्वागत गर्दै बुटवल उमपहानगरका मेयर खेलराज पाण्डे, समाजसेवी तथा मानव सेवा आश्रमका सदस्य गोपाल रानाले अभियान सफलताको शुभकामना व्यक्त गरे । बुटवलको बसपार्कमा बेसहारा भई बसेका एक पुरुष, एक महिला र बालिकालाई उद्धारपछि बोल्दै मेयर पाण्डेले उनीहरूको व्यवस्थापनका उपमहानगर सबै दायित्व पूरा गर्न तयार रहेको बताए ।

गायिका आनीले हर मानवमा करुणा भाव हुन आवश्यक रहेको बताइन् । ‘मानव सेवाका लागि सधैँभर हामीले गोजीबाट पैसा निकालेर दिनुपर्छ भन्ने छैन, हामीले गर्ने व्यवहार र बोल्ने बोली सधै सकारात्मक भए अभियान सार्थक हुन्छ ’, उनले थपिन् ।

अभियान अन्तरगत बुटवलमा भएको मानवउद्धार कार्यमा मानव सेवा आश्रमका अभिभावक लोकनाथ भुसाल, शेरबहादुर गौतम, आश्रमका लुम्बिनी संयोजक सरु अधिकारी, रुपन्देही संयोजक टीकामाया थापालगायत सुरक्षाकर्मी, सञ्चारकर्मी तथा आश्रमका सदस्य उपस्थित थिए ।

मानव सेवा आश्रमले देशका २४ वटा सेवाकेन्द्रबाट हालसम्म १ हजार ६ सय बढीको उद्धार गरी आश्रमको व्यवस्था गरेको छ । रुपन्देहीमा १८० जना सडक आश्रितहरुलाई उद्धार गरी उनीहरुलाई बासको व्यवस्था गर्दै आएको छ ।

मुलुकलाई सडकआश्रित मानव मुक्त बनाउने अभियान अन्तरगत मानव सेवाआश्रमको सहकार्यमा हालसम्म बुटवल उपमहानगरपालिकासहित १३ वटा स्थानलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस