निर्वाचित सांसदहरुको पहिलो प्राथमिकता, ‘भूकम्पपछिको पुनःनिर्माण’

रासस

आइतबार, ०९ पुस २०७४, १२ : १८
निर्वाचित सांसदहरुको पहिलो प्राथमिकता, ‘भूकम्पपछिको पुनःनिर्माण’

चितवन । हिमाली जिल्ला रसुवाका नवनिर्वाचित सांसदहरुले भूकम्पले क्षति पुर्याएको संरचनाको पुनःनिर्माण आफूहरुको पहिलो प्राथमिकता भएको बताएका छन् ।

लोकतान्त्रिक गठबन्धन रसुवाले आज बसुन्धरामा आयोजना गरेको ‘बधाई तथा धन्यवाद’ कार्यक्रममा नवनिर्वाचित सांसदहरुले समृद्ध र सुन्दर रसुवा निर्माणका लागि भूकम्पले भत्केको संरचना निर्माण आफूहरुको पहिलो काम भएको बताएका हुन् ।

कार्यक्रममा रसुवा क्षेत्र नं १ नवनिर्वाचित प्रतिनिधिसभा सदस्य इन्जिनियर मोहन आचार्यले भूकम्पले क्षति पुर्याएको संरचनाको पुनःनिर्माणका लागि भूकम्प पुनःनिर्माण प्राधिकरणसँग छिटो सहकार्य गरेर अगाडि बढ्ने बताए ।

‘प्राकृतिक क्षेत्रले सम्पन्न रसुवाको विकासका लागि पुनःनिर्माण नै पहिलो प्राथमिकता हो,’–उनले भने । उनले रसुवाभित्रको सडकको स्तरोन्नति, खानेपानी, सिँचाइ, जलविद्युत् क्षेत्रको समस्याको समाधानका लागि आफूहरुले काम गर्ने बताए ।

रसुवा प्रदेशसभा ‘क’ का सांसद प्रभात तामाङले अन्तर्राष्ट्रिय नाकाका रुपमा रहेको रसुवाको विकासका लागि आफूहरुले काम गर्ने बताए ।
प्रदेशसभा ‘ख’ का सांसद प्रेम तामाङले रसुवालाई नमूना हिमाली जिल्लाका रुपमा विकास गर्दै पर्यटनको विकास र विस्तारका लागि आफूहरु सदैव लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस